झापा, ७ असोज २०८३ । झापाको मेचीनगर–७ गैरीगाउँस्थित एक बंगुर फार्म पछाडि गाडिएको अवस्थामा एक व्यक्तिको कंकाल फेला परेको छ । कंकाल फेला परेपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा म्याग्दी घर भई हाल मेचीनगर–१० बस्ने ४५ वर्षीय संकित राम भन्ने गुप्तबहादुर सिंह र भारत जिल्ला आलेपुर विरपारा घर भई हाल मेचीनगर नगरपालिका८ बस्ने ४९ वर्षीय संजय लामा रहेका छन् ।
ललितपुरको साविक मणिखेल तथा हाल महाङ्काल गाउँपालिका–१ का स्थायी बासिन्दा दिलनाथ बजगाईं २०८१ साल कार्तिक २९ गतेदेखि झापाको मेचीनगर–६ काकडभिट्टाबाट हराएका थिए । उनकी श्रीमती तुलसा बुढा बजगाईंले खोजीका लागि प्रहरीमा निवेदन दिएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो ।
अनुसन्धानका क्रममा दिलनाथसँगै हिँड्ने गरेका शंकित राम भनिने गुप्तबहादुर सिंहसँग सोधपुछ गर्दा उनले दिएको सूचनाका आधारमा प्रहरीले मेचीनगर–७ भान्सा खोला ९गैरीगाउँ०स्थित जयप्रसाद तिवारीको जग्गामा रहेको बंगुर फार्म परिसरमा खोजी गरेको थियो ।
प्रहरीले स्थानीय बासिन्दा तथा जनप्रतिनिधिको रोहबरमा जेसीबी प्रयोग गरी उत्खनन गर्दा मानव आकृति देखिने कंकाल फेला पारेको हो । कंकाललाई परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।
फेला परेको कंकाल बेपत्ता रहेका दिलनाथ बजगाईंको हो वा होइन भन्ने यकिन गर्न शव परीक्षणपछि नमुना संकलन गरी थप परीक्षणका लागि केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।






