Online Bichar
सोमबार, आश्विन ०५, २०८३ | Monday, September 21, 2026

काठमाडौं, ५ असोज २०८३ । अफ्रिकी मुलुक सुडानको उत्तर–पूर्वी दुर्गम क्षेत्रमा रहेको सुनखानीको ‘शाफ्ट’ अचानक धसिँदा ११ जना खानी मजदुरको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् ।

भग्नावशेषमा धेरै मानिस पुरिएको आशंका गरिएको छ । उनीहरूको खोजी तथा उद्धारका लागि टोली परिचालन गरिएको छ । स्थानीय रूपमा कार्यरत अब्दुलहाय सरिफ अबाकारका अनुसार दुर्गम ओनीब क्षेत्रमा रहेको उक्त खानी शनिबार रातिदेखि धसिन थालेको थियो ।

राज्यको स्वामित्वमा रहेको सुडान मिनरल रिसोर्सेज कम्पनीका एक अधिकारीले नाम नखुलाउने सर्तमा आइतबारसम्म ११ जनाको शव निकालिएको र ३० जनालाई सुरक्षित उद्धार गरिएको बताएका छन् । कम्पनीले आधिकारिक वक्तव्य जारी गर्दै दुर्घटनामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

सुडानमा एक साताभित्र सुन खानी धसिएको यो दोस्रो घटना हो । यसअघि गत आइतबार पश्चिमी सुडानमा खानीहरूको एउटा शृंखला नै धसिँदा ८२ जनाको मृत्यु भएको थियो । उक्त क्षेत्र अर्धसैनिक बल ‘र्‍यापिड सपोर्ट फोर्सेज’ ९आरएसएफ० को नियन्त्रणमा छ । आरएसएफले तीन वर्षभन्दा बढी समयदेखि सुडानी सेनाविरुद्ध युद्ध लडिरहेको छ ।

सुडानमा ठूलो मात्रामा सुन उत्पादन हुन्छ । तर, देशभर हजारौँ अनौपचारिक तथा साना खानी सञ्चालनमा छन् । सुरक्षा मापदण्डको पर्याप्त पालना नहुँदा यस्ता खानीमा बारम्बार दुर्घटना हुने गरेका छन् ।

तपाईको प्रतिक्रिया