Online Bichar
आइतबार, आश्विन ०४, २०८३ | Sunday, September 20, 2026

बिर्तामोड, ३ असोज २०८३ । संविधान दिवसको अवसर पारेर नेकपा (एमाले) बिर्तामोड नगर कमिटीले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा ६१ जनाले रगत दान गरेका छन्।

‘क्तदान जीवनदान’ भन्ने मूल सन्देशसहित बिर्तामोड–३ वडा कमिटीको सहआयोजनामा बिर्ताबजारस्थित दुर्गा मन्दिरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा ११ जना महिला र ५० जना पुरुष गरी ६१ जनाले स्वेच्छिक रक्तदान गरेको बिर्तामोड ३ नं वडा कमिटी अध्यक्ष कोसिस घिमिरेले जानकारी दिए। पछिल्लो समय देखिएको रगत अभावलाई ध्यानमा राख्दै आयोजना गरिएको रक्तदान कार्यक्रमले संविधान दिवसलाई सामाजिक सेवासँग जोड्ने प्रयास गरेको आयोजकले जनाएको छ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता टंक उप्रेती प्रमुख अतिथि रहेका थिए। एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश सचिवालय सदस्य तथा पूर्वमन्त्री एकराज कार्की, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , जिल्ला सचिवालय सदस्य देवराज कार्कीलगायत एमालेका नेता तथा कार्यकर्ताको सहभागिता थियो।

एमाले बिर्तामोड नगर कमिटी उपाध्यक्ष तथा बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीले स्वागत मन्तव्य राखेको कार्यक्रममा वडा कमिटी सचिव श्री न्यौपानेले सञ्चालन गरेका थिए। रक्तदान कार्यक्रमका लागि नेपाल रेडक्रस सोसाइटी झापा शाखाले प्राविधिक सहयोग गरेको थियो।

 

तपाईको प्रतिक्रिया