Online Bichar
शुक्रबार, आश्विन ०२, २०८३ | Friday, September 18, 2026

झापा, २ असोज २०८३ । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोको खोप ३० वर्ष माथिकालाई लगाउने तयारी भइरहँदा संक्रमणको जोखिममा रहेका ३० वर्ष मुनिकाहरु छुट्ने भएका छन् ।

जिल्लामा यस वर्ष जेईबाट १४ जना संक्रमित र ७ जनाको मृत्यु भएकोमा उमेर समूह हेर्दा ३० वर्ष मुनिका एकजनाको मृत्यु भएको छ भने तीनजना संक्रमित छन् । मृत्यु हुनेमा एकजना ८ वर्षका बालक रहेका छन् भने संक्रमित हुनेहरुमा ७ महिनाका बालक , २३ वर्षीया र १८ वर्षीया दुईजना युवती छन् ।

गत साता मात्र भद्रपुर नगरपालिका–८ बस्ने ८ वर्षीय अविनाश टुडुको जेई संक्रमणबाट मृत्यु भएको हो । अविनाशलाई भदौ ८ गते उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा भर्ना गरिएको थियो । अस्पतालमा परीक्षणका क्रममा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएपछि थप उपचारका लागि भदौ १० गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । धरानमा करिब १४ दिनसम्म उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नआएपछि परिवारले उनलाई घर ल्याएका थिए । घरमै राखेर उपचार तथा हेरचाह गरिरहेको अवस्थामा शुक्रबार उनको मृत्यु भएको भद्रपुर नगरपालिकाको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

त्यस्तै गत असार १६ गते कचनकवल-५ पाठामारीका ७ महिनाका बालकमा संक्रमण देखिएको थियो । ती बालकलाई उपचारपछि घर ल्याइएको छ । त्यस्तै गत साउन ११ गते मेचीनगर-७ जोरसिमलकी २३ वर्षीया युवती जेईको संक्रमणबाट संक्रमित भएकी थिइन् ।

त्यस्तै भदौको दोस्रो साता भद्रपुर बजारकी १८ वर्षीया युवतीलाई जेईको संक्रमण देखिएको थियो । उनलाई उपचारका लागि भारत दिल्लीको मेदान्त अस्पताल लगिएको छ । ती युवतीको रेकर्ड नरहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

अन्य संक्रमित र मृत्यु हुनेहरुको उमेर समूह हेर्दा ४० वर्षदेखि ७३ वर्षसम्मका छन् । गत वर्ष झापामा जेईबाट तीनजनाको मृत्यु भएको थियो । त्यसमा गौरीगञ्ज–१ की ८ वर्षीया बालिका रहेकी थिइन् ।

झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोविरुद्धको खोप अभियान यही असोज ५ गतेदेखि सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाका १५ वटै स्थानीय तहका १३१ वडामा असोज १५ गतेसम्म अभियान सञ्चालन गरिनेछ ।

जेईको संक्रमणको जोखिम बढ्दै गएपछि ३० वर्षभन्दा माथिका नागरिकलाई लक्षित गरी खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख बृजकुमार दासले जानकारी दिए । अभियानका लागि ५ लाख ७० हजार डोज खोप झापा आइपुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । प्रत्येक स्थानीय तहमा आवश्यक जनशक्ति व्यवस्थापन गरिसकिएको छ भने असोज २ गतेदेखि तालिकाअनुसार स्थानीय तहमा खोप पठाइनेछ ।

स्थानीय तहअनुसार फरक–फरक मितिमा खोप सञ्चालन हुनेछ । मेचीनगरमा असोज ५ देखि १४ गतेसम्म, बुद्धशान्ति र अर्जुनधारामा ९ देखि १५ गतेसम्म, कनकाई र शिवसताक्षीमा ५ देखि १३ गतेसम्म तथा कमलमा ५ देखि १४ गतेसम्म खोप दिइनेछ ।

त्यस्तै दमकमा असोज ५ देखि ११ गतेसम्म, गौरादहमा ५ देखि १० गतेसम्म, गौरीगञ्जमा ५ देखि १३ गतेसम्म, झापा गाउँपालिकामा ५ देखि १० गतेसम्म र बाह्रदशीमा-८ देखि १५ गतेसम्म अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

बिर्तामोडमा असोज ९ देखि १४ गतेसम्म, हल्दिबारीमा ५ देखि १४ गतेसम्म, भद्रपुरमा ९ देखि १४ गतेसम्म र कचनकवलमा ९ देखि १४ गतेसम्म खोप सञ्चालन हुनेछ । ३० वर्ष मुनिका संक्रमितहरुले जेईको खोप नलगाएको कार्यालय प्रमुख दासले जानकारी दिए ।

२०६४ सालमा झापामा जेईविरुद्धको खोप अभियान संचालन गरिएको थियो । त्यसबेला १५ वर्षमुनिकाहरुलाई खोप लगाइएको थियो । त्यसबेला १५ वर्षमुनि उमेर भएकाहरुले खोप लगाइसकेको हुनाले यस पटक उमेर समूह गणना गरी ३० वर्षमाथिकाहरुलाई खोप लगाउन लागेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

दुई वर्षअगाडि झापालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको थियो । तर , अझै पनि धेरैजनाले नियमित खोप लगाइरहेका छैनन् भने बाहिरबाट आउनेहरुमा संक्रमणको जोखिम उत्तिकै छ ।

 

तपाईको प्रतिक्रिया