काठमाडौं, १ असोज २०८३ । फिजीले देशमा तीव्र गतिमा फैलिरहेको एचआईभी संक्रमण र लागुपदार्थको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै राष्ट्रिय आपत्काल घोषणा गरेको छ । प्रशान्त महासागरमा अवस्थित फिजीमा औसतमा प्रत्येक ६० वयस्कमध्ये एकजना एचआईभीबाट संक्रमित रहेको बताइएको छ ।
स्वास्थ्य अधिकारीहरूका अनुसार, सन् २०२५ मा एचआईभीका दुई हजार १६ नयाँ केस दर्ता भएका थिए, जुन सन् २०१९ को तुलनामा १६ गुणा बढी हो । स्थितिको गम्भीरतालाई ध्यानमा राख्दै सरकारले संक्रमण नियन्त्रणका लागि व्यापक योजना घोषणा गरेको छ । सरकारी तथ्यांकअनुसार देशमा गर्भवती महिलामध्ये दुई प्रतिशत एचआईभीबाट संक्रमित छन् ।
सन् २०२५ मा एचआईभी संक्रमणसहित जन्मिएका ५९ शिशुमध्ये १८ जनाको पहिलो जन्म दिनअघि नै मृत्यु भएको थियो । संक्रमण फैलिनुको मुख्य कारण असुरक्षित यौन सम्पर्क र लागुपदार्थ प्रयोगका क्रममा सुई तथा सिरिन्ज आदानप्रदान गर्नु रहेको बताइएको छ ।
स्वास्थ्यमन्त्री एन्टोनियो लालाबालाभुले सञ्चारकर्मीसँग भने, “म औपचारिक रूपमा फिजीमा राष्ट्रिय एचआईभी आपत्काल घोषणा गर्दछु । यो निर्णयले महामारीको गम्भीरता र यस समयमा हाम्रो देशलाई आवश्यक तत्काल तथा समन्वयात्मक कारबाहीको आवश्यकता दर्शाउँछ ।”
यूएनएड्सका क्षेत्रीय निर्देशक एमन मर्फीले फिजीसँग अझै पनि यो महामारीको दिशा बदल्ने अवसर रहेको बताए ।
सरकारले अब निःशुल्क एचआईभी परीक्षण, रोकथामका औषधि तथा सुई–सिरिन्ज कार्यक्रमको पहुँच विस्तार गर्ने निर्णय गरेको छ ।






