Online Bichar
बिहिबार, आश्विन ०१, २०८३ | Thursday, September 17, 2026

काठमाडौं, १ असोज २०८३ । ‘नेपाल अटिजम समिट २०२६’ यही असोज ३ गते काठमाडौंमा आयोजना गरिने भएको छ । नेपालमा पहिलोपटक अटिजम सम्मेलन आयोजना गर्न लागिएको हो । इनक्लुसिभ एजुकेसन नेपालले आयोजना गर्न लागेको समिट अटिजम तथा न्युरोडाइभर्सिटीका विषयमा केन्द्रित हुने आयोजकले जनाएको छ ।

अटिजम भएका बालबालिका तथा व्यक्तिको शिक्षा, स्वास्थ्य, सामाजिक स्वीकार्यता, अधिकार र समावेशीकरणका विषयमा बहस, छलफल र योजना गर्ने उद्देश्यले समिट आयोजना गर्न लागिएको आयोजक संस्थाका संस्थापक अध्यक्ष राम तिवारीले जानकारी दिए ।

नेपालमा अटिजमबारे जनचेतनाको अभाव रहेको र व्यक्तिगत वा पारिवारिक समस्याका रूपमा मात्र बुझिएकाले यसलाई सामाजिक, शैक्षिक, स्वास्थ्य तथा नीतिगत मुद्दाका रूपमा राष्ट्रिय बहसमा ल्याउन समिटले मद्दत पुग्ने आयोजकको विश्वास छ ।

उक्त समिटिमा अटिजम तथा न्युरोडाइभर्सिटीबारे सही सूचना र बुझाइ विस्तार, समावेशी शिक्षाको अवस्था, अटिजम भएका व्यक्ति तथा परिवारका अनुभव र चुनौती, राज्य तथा सरोकारवाला निकायको भूमिका तथा आगामी दिनमा आवश्यक नीति र कार्यक्रमका विषयमा छलफल गरिनेछ । समिट राष्ट्रियस्तरमा बहस गर्ने महत्त्वपूर्ण अवसर बन्न सक्ने विश्वास समेत तिवारीले व्यक्त गरे ।

“हाम्रो समाजमा अटिजम भएका बालबालिका तथा व्यक्तिहरू र उनीहरूका परिवारले अझै पनि पर्याप्त जानकारी, स्वीकार्यता, उचित सहयोग, समावेशी शिक्षा तथा आवश्यक सेवाको अभाव महसुस गरिरहेका छन्,” उनले भने, “यस्तो अवस्थामा अटिजमको विषयलाई केवल व्यक्तिगत वा पारिवारिक समस्याको रूपमा नभई समाज, शिक्षा, स्वास्थ्य, नीति निर्माण र समावेशी विकाससँग जोडिएको महत्त्वपूर्ण सामाजिक विषय का रूपमा हेर्न आवश्यक छ ।”

मस्तिष्क र स्नायु कोषहरूको स्वभाविक विकासक्रममा हुने असमान अवस्थाको रूपलाई अटिजम भनिन्छ । अटिजम मष्तिस्कको एक विशेष अवस्था मात्र हो । अटिजमका कारण सञ्चारमा विचलन, सामाजिक रूपमा घुलमिल हुन नसक्ने, पुनरावृत्ति, एकोहोरोपन ल्याउने अवस्था हुन्छ ।

तपाईको प्रतिक्रिया