Online Bichar
बिहिबार, आश्विन ०१, २०८३ | Thursday, September 17, 2026

रसुवा, १ असोज २०८३ । चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई बिहीबार (असोज १) हस्तान्तरण गरिएको छ ।

चिलिमे जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक बाबुराजा महर्जनले भोटेकोसी नदीमा बाढी आउँदा बखत केन्द्रमा कार्यरत रही मृत्यु भएका इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदारद्वय श्यामबहादुर थापामगर र तिलकबहादुर थापामगर तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव पहिचान भई परिवारजनलाई हस्तान्तरण गरिएको बताए ।

उक्त विद्युत् केन्द्रको सुरुङको बाहिरी भागदेखि करिब १५० मिटरभित्र रहेको कन्ट्रोल रुम क्षेत्रमा बुधबार (भदौ ३१) अपराह्न उनीहरूको शव फेला परेको थियो । ती शव नेपाली सेनाको हेलिकोप्टरमार्फत नुवाकोट लगेर हस्तान्तरण गरिएको महर्जनले बताए ।

उद्धारका निम्ति नेपाली सेनाका बाहिनीपतिको कमान्डमा भारतीय सेना, सशस्त्र प्रहरी बल र प्राधिकरणका कर्मचारी खटिएका थिए ।

भोटेकोसी नदीको सतहबाट २० मिटर उचाइमा रहेको सुरुङभन्दा करिब ८५ मिटर माथिसम्म बाढी पुगेको थियो । बाढीले सुरुङ पुरिएको र ११ वाट क्षमताका दुई टर्बाइनसहित सम्पूर्ण संरचना ध्वस्त भएको प्रबन्ध निर्देशक महजर्नले जानकारी दिए ।

रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले खोज तथा उद्धारसहित राहत वितरण कार्य जारी रहेको, क्षतिको विवरण संकलनका निम्ति एक महिनाको समय तोकी कार्यादेशसहित २५ सदस्यीय समिति गठन भइसकेको, नदीमाथि तुइन तथा फड्के निर्माण भई आवतजावतलाई सहज बनाइएको र बाढीपछिको सम्भावित हैजा तथा विपद्जन्य महामारीलगायत रोगको रोकथामका निम्ति आवश्यक औषधिसहित जनशक्तिको व्यवस्था गरिएको बताए । रासस

तपाईको प्रतिक्रिया