Online Bichar
बिहिबार, आश्विन ०१, २०८३ | Thursday, September 17, 2026

धादिङ, ३१ भदौ २०८३ । भोटेकोशी नदीमा आएको बाढीका कारण सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा नयाँ ट्र्याक निर्माण सम्पन्न भएको छ। नयाँ ट्र्याक निर्माण भएसँगै बिहीबार बिहान ६ बजेदेखि पृथ्वी राजमार्ग दुईतर्फी रूपमा सञ्चालनमा आउने भएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार रसुवा जिल्लास्थित भोटेकोशी नदीमा भदौ १० र १४ गते आएको आकस्मिक तथा विनाशकारी बाढीका कारण कृष्णभीर क्षेत्रमा सडक भासिएपछि राजमार्गको आवागमन अवरुद्ध भएको थियो।

सम्बन्धित निकायहरूको निरन्तर प्रयासपछि कृष्णभीरमा नयाँ ट्र्याक निर्माण सम्पन्न गरिएको हो। नयाँ ट्र्याकबाट सवारी सञ्चालनका लागि आवश्यक तयारी पूरा भएपछि बिहीबार बिहानदेखि राजमार्गमा दुईतर्फी आवागमन सञ्चालन गर्न लागिएको प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमका अनुसार नयाँ ट्र्याक निर्माण सम्पन्न भएकाले बिहीबार बिहान ६ बजेदेखि पृथ्वी राजमार्गमा नियमित रूपमा दुईतर्फी सवारी सञ्चालन गरिनेछ।

राजमार्गका विभिन्न स्थानमा अझै सडक भासिने, पहिरो जाने तथा ढुंगा-माटो खस्ने जोखिम कायमै रहेको प्रशासनले जनाएको छ। विशेषगरी वर्षायाममा सडकको अवस्था जोखिमपूर्ण हुन सक्ने भएकाले सवारी चालक तथा यात्रुलाई सावधानी अपनाएर यात्रा गर्न आग्रह गरिएको छ।

वर्षा भइरहेको समयमा वा सडकमा पहिरो, ढुंगा तथा अन्य अवरोध देखिए जोखिम मोलेर यात्रा नगर्न प्रशासनले अनुरोध गरेको छ। साथै सुरक्षाकर्मी तथा सडक व्यवस्थापनमा खटिएका कर्मचारीको निर्देशन पालना गर्न र सडकको अवस्था हेरेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।अन्नपूर्णपोष्टबाट

तपाईको प्रतिक्रिया