Online Bichar
बुधबार, भाद्र ३१, २०८३ | Wednesday, September 16, 2026

काठमाडौं, ३१ भदौ २०८३ । यसपटकको दसैँमा सर्वसाधारणले १ सयसम्मको खुद्रा नोटका लागि नेपाल राष्ट्र बैंक तथा बैंकहरूको शाखा कार्यालय धाउन नपर्ने भएको छ ।

दसैँलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले एटीएम मेसिनहरूबाटै सय रुपैयाँका नोट झिक्न सकिने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई भदौ २९ गते पत्राचार गरेको छ ।

अब यसैअनुसार बैंकहरूले तयारी गर्ने राष्ट्र बैंककी सूचना अधिकारी सुधा श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार, यो सर्वसाधारणका लागि जारी गरिएको सार्वजनिक सर्कुलर नभई बैंकहरूलाई पठाइएको पत्राचार हो ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले करिब दुई दिनअघि बैंकहरूलाई पत्र पठाउँदै १०० रुपैयाँको नोट एटीएमबाट निकाल्न सकिने गरी व्यवस्थापन मिलाउन आग्रह गरेको हो ।

“विगतका वर्षहरूमा दसैँका लागि साना दरका नोट साट्न राष्ट्र बैंक तथा वाणिज्य बैंकहरूमा सर्वसाधारण घण्टौँ लाइन बस्नुपर्ने बाध्यता थियो । एटीएमबाटै सय रुपैयाँका नोट निस्कने व्यवस्था भएपछि नोट साट्न लाइन बस्नुपर्ने झन्झट हट्ने अपेक्षा गरिएको छ,” सूचना अधिकारी श्रेष्ठले भनिन् ।

राष्ट्र बैंकले बैंकहरूलाई पत्र पठाइसकेकाले अब सम्बन्धित बैंकहरूले आफ्ना एटीएम मेसिनमा १०० रुपैयाँका नोट मिलाएर राख्नासाथ यो सेवा सुरु हुनेछ । बैंकहरूको तयारीअनुसार, ग्राहकहरूले आज वा भोलिदेखि नै एटीएमबाट सय रुपैयाँका नोट झिक्न सक्नेछन् ।

साना दरका नोटको एटीएम व्यवस्थापनसँगै राष्ट्र बैंकले डिजिटल दक्षिणा तथा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने आफ्नो नीतिलाई निरन्तरता दिएको बताएको छ ।

सूचना अधिकारी श्रेष्ठका अनुसार, डिजिटल भुक्तानी प्रवर्धन गर्ने राष्ट्र बैंकको नीतिमा कुनै परिवर्तन भएको छैन ।

तपाईको प्रतिक्रिया