Online Bichar
शुक्रबार, भाद्र २६, २०८३ | Friday, September 11, 2026

काठमाडौं, २६ भदौ २०८३ । भैरहवाको कालिंगा क्यासिनोमा जुवा खेल्ने पाँच नेपालीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार साँझ ६ जनालाई पक्राउ गरेको हो । सिद्धार्थनगर नगरपालिका–१० मा रहेको उक्त क्यासिनोमा नेपालीहरुलाई प्रवेश गराएर जुवा खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।

सो क्रममा क्यासिनोका म्यानेजरसहित ६ जनालाई पक्राउ गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डीआईजी भुपेन्द्र खत्रीले बताए ।

पक्राउ पर्नेहरुमा म्याग्दीको बेनी नगरपालिका–७ का ४८ वर्षीय नारायण घर्ती, पोखराका ४७ वर्षीय रोशन केसी, पोखराकै ३९ वर्षीय सुदीप आचार्य, बुटवलका ४६ वर्षीय रामु श्रेष्ठ, बुटवलकै ३६ वर्षीय चन्द्रनारायण श्रेष्ठ र क्यासिनोका पिट म्यानेजर भारतीय नागरिक २५ वर्षीय पारस भाटिया छन् ।

पक्राउ परेकाहरुलाई वडा प्रहरी कार्यालय भैरहवामा राखेर अनुसन्धान अघि बढाइएको छ ।

 

तपाईको प्रतिक्रिया