टोकियो, २३ भदौ २०८३ । जापानको फुकुओकामा नेपाली युवती लक्ष्मी राजवंशीको हत्या प्रकरणमा तीन नेपाली पक्राउ परेका छन् ।
जापान प्रहरीका अनुसार हत्या अभियोगमा फुकुओका सहरको हाकाता वार्डस्थित एक व्यावसायिक विद्यालयमा अध्ययनरत २८ वर्षीय सन्जु तामाङ, सागा प्रिफेक्चरको तोसु सहरमा बस्ने २५ वर्षीय अमिस्ता तामाङ र सोही सहरमा बस्ने २२ वर्षीय प्रबिन लामा पक्राउ परेका हुन् ।
जापानको फुकुओकामा १९ अगस्टमा झापा चन्द्रगढीकी २५ वर्षीया राजवंशी खोलामा मृत अवस्थामा फेला परेकी थिइन् । उनको टाउकोमा प्रहार गरी घाँटीमा डोरीले कसेपछि बरन्डाबाट नदीमा खसालिएको आशंका प्रहरीले गरेको छ ।
प्रहरीले पक्राउ परेका तीनै जना अभियुक्तहरूले आरोप स्वीकार वा अस्वीकार गरेको विषय भने सार्वजनिक गरेको छैन ।
अनुसन्धानका क्रममा राजवंशीसँग प्रेम सम्बन्धमा रहेका प्रबिन लामा र पक्राउ परेकी सन्जु एउटै घरमा बस्दै आएको तथ्यसमेत खुलेको छ ।
प्रहरीले प्रेम सम्बन्धसँग जोडिएको विवाद घटनाको पृष्ठभूमिमा हुनसक्ने आशंकामा हत्या हुनुअघिको घटनाक्रमबारे विस्तृत अनुसन्धान गरिरहेको छ ।अनलाइनखबरबाट






