झापा, २३ भदौ २०८३ । नेपालमा लागूऔषध सप्लाई गर्न खोज्ने दुईजना भारतीय तस्कर भारतको किशनगंजमा पक्राउ परेका छन् । किशनगंज प्रहरी र सीमा सशस्त्र बलको संयुक्त कारबाहीमा अवैध लागूऔषध ब्राउन सुगर तस्करीको अन्तर्राष्ट्रिय सिष्टमको पर्दाफास गरिएको भारतीय प्रहरीले दावी गरेको छ । पक्राउ पर्नेहरुबाट ३०८.४५ ग्राम ब्राउन सुगर ,एउटा मोटरसाइकल र भारतीय मुद्रा बरामद भएको छ। ३०८.४५ ग्राम ब्राउन सुगरको अन्तर्राष्ट्रिय बजार मूल्य करिब ६० लाख रुपैयाँ अनुमान गरिएको छ।
किशनगंजका प्रहरी अधीक्षकले अवैध लागूऔषध तस्करविरुद्ध लगातार अभियान चलाइरहेका छन्। यसै क्रममा आइतवार किशनगंज प्रहरी र सीमा सशस्त्र बलले गोप्य सूचनाको आधारमा हैदर नगर मस्जिदनजिक सवारी साधनहरुको चेकजाँच गरिरहेका थिए । त्यस क्रममा तैयबपुरतर्फबाट दुईजना सवार भएर मोटरसाइकलमा आउँदै थिए । उनीहरुले प्रहरीलाई देखेपछि मोटरसाइकल घुमाएर भाग्ने प्रयास गरेका थिए । शंकाको आधारमा भागिरहेका मोटरसाइकल चालकलाई रोकेर खानतलासी गरिएको थियो । त्यस क्रममा ब्राउन सुगर बरामद भएको हो । पक्राउ पर्नेहरुमा किशनगन्ज पोठिया फुलहारा बस्ने ३५ वर्षीय मोहम्मद मोहसिन र पश्चिम बंगाल उत्तर दिनाजपुर जिल्लाको इस्लामपुर कालुगञ्ज बस्ने २९ वर्षीय समशेर अली रहेका छन् ।
सोधपुछका क्रममा ती दुवैले मिलेर अवैध लागूपदार्थको किनबेच गर्ने गरेको स्वीकार गरेका छन् । गिरोहमा समावेश अन्य अपराधी र बरामद ब्राउन सुगरको ब्याकवार्ड र फर्वार्ड लिङ्केजको पनि खोजी भइरहेको भारतीय प्रहरीले जनाएको छ ।






