कायरो, २१ भदौ २०८३ । इजिप्टमा एक टेलिभिजन प्रस्तोता र अन्य ११ जनालाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय तोकेको छ । इजिप्टको सरकारी अखबार अल अकरमलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार उनीहरू एक आपराधिक गिरोहमा संलग्न थिए ।
उक्त गिरोहले लागू औषध निर्माणका लागि आवश्यक कच्चा पदार्थ विदेशबाट मगाउने गरेको र त्यसबाट उत्पादन भएको लागु औषध इजिप्टमा बेच्ने गर्दथ्यो । उनीहरूको साथबाट अवैध हतियारसमेत बरामद भएको बताइएको छ ।
मृत्युदण्डको सजाय सुनाइएकामध्ये ३९ वर्षीय सारा खलिफा पनि छन्, जो एक टेलिभिजन प्रस्तोता हुन् । उनले सञ्चालन गर्ने कार्यक्रम ‘मिसन इम्पोसिबल’मा अपराधसँग जोडिएका घटना देखाइन्थ्यो ।
साराले आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै आएकी थिइन् । स्थानीय अदालतले अघिल्लो महिना नै फैसला सुनाएको थियो । यद्यपि उक्त फैसलालाई एक महिनापछि बल्ल सुनिश्चित गरिएको हो । फैसला सुनिश्चित गर्नुअघि अदालतले इजिप्टको ‘ग्य्राण्ड मुफ्ती’सँग धार्मिक राय लिएको थियो । इजिप्टमा मृत्युदण्डको सजाय सम्बन्धमा यसरी राय लिनु कानुनी प्रक्रियाको हिस्सा मानिन्छ ।
अदालतको यो फैसलाविरुद्ध माथिल्लो तहमा पुनरावेदन गर्न सकिन्छ । सुनुवाइका क्रममा सरकारी अधिकारीहरूले ७५० किलोभन्दा बढी लागु औषध र त्यसलाई बनाउन विदेशबाट मगाइएको कच्चा पदार्थ बरामद गरिएको अदालतसमक्ष बताएका थिए ।
सरकारी अखबारका अनुसार २० जना साक्षीले अभियोजनको पक्षमा बयान दिएका थिए । यस अतिरिक्त केही विद्युतीय प्रमाण पनि अदालतमा पेस गरिएको थियो, जसमा कुराकानीको विवरण र भिडियो क्लिप पनि सामेल थियो ।






