Online Bichar
आइतबार, भाद्र २१, २०८३ | Sunday, September 6, 2026

काठमाडौं, २१ भदौ २०८३ । दशकौँदेखि विश्वको परम्परागत नक्सा परिवर्तन गर्न भइरहेको प्रयासले सेप्टेम्बर ४ मा संयुक्त राष्ट्रसंघ महासभामा औपचारिक रूप लिएको छ ।

महासभामा १६४ देशले नयाँ नक्साका पक्षमा मतदान गरेका छन् । अमेरिकाले प्रस्तावको विरोध गरेको छ । एस्टोनिया, जर्जिया, लिथुआनिया, मोरक्को, सर्बिया र युक्रेन गरी ६ देश मतदानमा सहभागी भएनन् ।

‘इक्वल अर्थ’ कार्टोग्राफिक प्रोजेक्सनका रूपमा चिनिने यो नक्साको प्रस्ताव अफ्रिकी मुलुकहरूको समूहले अघि बढाएको थियो । नयाँ नक्साले महाद्वीपहरूको वास्तविक क्षेत्रफल र आकारलाई तुलनात्मक रूपमा बढी सही ढंगले प्रस्तुत गर्ने प्रस्तावकको भनाइ छ ।

पश्चिम अफ्रिकी मुलुक टोगोका परराष्ट्रमन्त्री रोबर्ट डुसेले राष्ट्रसंघमा सम्बोधन गर्दै नक्सा कहिल्यै पूर्ण रूपमा तटस्थ नहुने र त्यसले शिक्षा तथा मानिसको विश्वबारेको बुझाइलाई समेत प्रभावित पार्ने बताएका छन् ।

“जब नक्साले हाम्रो ग्रहको गलत चित्र प्रस्तुत गर्छ, तब पुस्तौँसम्म गलत जानकारी पुग्ने खतरा रहन्छ,” उनले भने ।

टोगोले यसै वर्षको अन्त्यसम्म आफ्ना विद्यालयमा नयाँ नक्सा लागु गर्ने योजना बनाएको छ ।

हाल व्यापक रूपमा प्रयोग गरिँदै आएको मर्केटर प्रोजेक्सन सन् १५६९ मा डच भूगोलविद् जेरार्डस मर्केटरले विकास गरेका थिए । समुद्री यात्राका निम्ति दिशासम्बन्धी कोणलाई सही रूपमा देखाउन उपयोगी भए पनि उक्त प्रोजेक्सनले महाद्वीपहरूको वास्तविक क्षेत्रफलमा ठूलो विकृति ल्याउँछ । यसमा ध्रुवीय क्षेत्रनजिकका भूभाग वास्तविक आकारभन्दा ठूलो र भूमध्यरेखानिकटका भूभाग सानो देखिन्छन् ।

यही कारण परम्परागत मर्केटर नक्सामा ग्रीनल्यान्ड र अफ्रिका लगभग समान आकारका देखिन्छन् । जबकि, वास्तविक क्षेत्रफलका आधारमा अफ्रिका ग्रीनल्यान्डभन्दा करिब १४ गुणा ठूलो छ ।

नयाँ नक्साको समर्थनमा सञ्चालित अभियानका अनुसार, अफ्रिका यति विशाल छ कि त्यसको क्षेत्रफलभित्र अमेरिका, चीन, भारत, जापान, मेक्सिको र युरोपको ठूलो भूभाग अटाउन सक्छ । त्यसपछि पनि जमिन बाँकी रहन्छ ।

फ्रान्सका परराष्ट्रमन्त्री जान–नोएल बारोतले परम्परागत नक्सामा अमेरिका, रुस र चीन आवश्यकताभन्दा ठूलो देखिने गरेको स्वीकार गरे । उनले फ्रान्सले पनि मर्केटर प्रोजेक्सन त्याग्ने घोषणा गरेका छन् ।

“नक्सा बदल्दैमा विश्व बदलिँदैन, तर गलत चित्र सुधार्नु सत्यको दिशामा एउटा महत्त्वपूर्ण कदम हो,” उनले भनेका छन् ।

प्रस्तावको विपक्षमा मतदान गर्ने एक्लो देश अमेरिका बनेको छ । अमेरिकी प्रतिनिधि यारिना फेरेन्सेभिचले राष्ट्रसंघले वास्तविक अन्तर्राष्ट्रिय शान्ति र समृद्धिका विषयमा ध्यान दिनुको सट्टा १६औँ शताब्दीका नक्सासम्बन्धी परियोजनामा बहस गरेर समय खर्च गरिरहेको तर्क गरेकी छन् । उनले प्रस्तावलाई ‘वैचारिक एजेन्डा’को संज्ञा दिएकी छन् ।

राष्ट्रसंघको यो निर्णय कानुनी रूपमा बाध्यकारी भने छैन । समुद्री तथा हवाई नेभिगेसनका निम्ति मर्केटर प्रोजेक्सन अझै प्राविधिक रूपमा उपयोगी रहेकाले ती क्षेत्रमा यसको प्रयोग जारी रहनेछ ।

तपाईको प्रतिक्रिया