झापा, १७ भदौ २०८३ । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले पदबाट राजीनामा दिएका छन् । भोलिदेखि लागू हुने गरी भक्तपुर निवासी गेलालले दुई दिनअघि राजीनामा दिएका हुन् । उनी राजीनामा दिन काठमाडौ गएका थिए । हिजो झापा फर्किएका प्रजिअ गेलालको आज जिल्ला प्रशासन कार्यालयमा विदाइ कार्यक्रम रहेको छ ।
सरकारले निजामती सेवामा जनशक्ति कटौतीको लक्ष्य अनुरुप ५५ वर्षमै कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने योजना ल्याएपछि गेलालले राजीनामा दिएको बताइएको छ ।
सरकारले संघीय निजामती सेवाबाट ठूलो संख्यामा कर्मचारीहरूको कटौती गर्ने योजना बनाएको छ । लामो समय काम गरेका र पुराना कर्मचारीहरू कटौतीका लागि संघीय निजामती विधेयकबाटै उनीहरूलाई अवकाश दिनेगरी गृहकार्य भइरहेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट रायका लागि कानुन मन्त्रालय पठाइएको विधेयकमा ५५ वर्ष उमेर पूरा भएका निजामती कर्मचारीहरूलाई अवकाश दिने प्रस्ताव छ ।त्यसका साथै सेवा अवधि ३० वर्ष पुगेकाहरू पनि अवकाश हुनेछन् ।
विधेयकमा प्रस्ताव गरिएको व्यवस्था हुबहु पारित भएर कार्यान्वयन भए २०२८ सालअघि जन्मिएका र निजामती सेवामा रहेका कर्मचारीहरू स्वतः अवकाश हुनेछन् ।






