काठमाडौं, १७ भदौ २०८३ । भोटेकोसी बाढी प्रभावित क्षेत्रका तीन स्थानमा बेलिब्रिज राख्ने प्रक्रिया सुरु भएको छ । थप २० ठाउँमा बेलिब्रिज राख्न सम्भाव्यता अध्ययन भइरहेको छ ।
बाढीले बगाएका तथा क्षति गरेका पुलका स्थानमा तत्काललाई बेलिब्रिज राखी यातायात सम्पर्क सुचारु गर्ने सरकारको तयारी छ ।
प्रधानमन्त्री वालेन्द्र ९बालेन० शाहले सार्वजनिक गरेको बाढीको क्षति सम्बन्धी विवरणम बाढी प्रभावित क्षेत्रमा ३१ वटा मोटरेबल पुल बगेका छन् ।
“तीमध्ये तीन स्थानमा बेलिब्रिज राख्ने प्रक्रिया सुरु भएको छ । थप २० ठाउँमा बेलिब्रिज राख्न सम्भाव्यता अध्ययन भइरहेको छ,” प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।
नेपालसँग ४८ मिटर लम्बाईका ६ र ७० मिटरको एक थान बेलिब्रिज रहेको छ । अहिले देवीघाटको तादी नदी, त्रिशूली बजार र बेत्रावती बजारमा बेलिब्रिज राख्ने विषयमा अध्ययन भइसकेको छ ।
भारत सरकारबाट २३० फिट सिंगल लेन मोडुलर स्टिल ब्रिज प्राप्त भएको छ । भारतले थप सातवटा बेलीब्रिज पठाउने प्रतिबद्धता जनाएको छ ।
चीनले पनि ३० वटा बेलिब्रिज छिट्टै उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
बाढीका कारण गल्छी–वेत्रावती–रसुवागढी सडक र पृथ्वी राजमार्गको गल्छी–मुग्लिनखण्डको अधिकांश भागमा क्षति भएको छ । गल्छी–वेत्रावती–रसुवागढी सडकको ८२ किलोमिटरमध्ये बिदुर–वेत्रावती–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी खण्डको ४० किलोमिटर पूर्णरुपमा र १६ किलोमिटरमा आंशिक क्षति पुगेको छ ।
पृथ्वी राजमार्गको कृष्णभीर, परेवाभीर क्षेत्रमा क्षति पुगेको छ । बाढीका कारण ४८ वटा झोलुंगे पुलमा क्षति पुगेको छ, जसमध्ये २० वटा मर्मत गर्न मिल्ने र २८ वटा नयाँ निर्माण गर्नुपर्नेछ ।
गल्छी–वेत्रावती सडकको गल्छी–देवीघाटखण्डमा लेदो हटाई बेलिब्रिज निर्माणको क्रममा छ । तादी देविघाटमा बेलिब्रिज राख्ने तयारी तीव्र गतिमा भइरहेको छ । बेत्रावतीमा नेपालसँग उपलब्ध बेलिब्रिज राख्न सम्भव देखिएकोले काम सुरु भइसकेको छ ।
सडक विभागले भोटेकोसी बाढीले सडक पूर्वाधारमा ३० अर्बको क्षति पुर्याएको जनाएको छ । पुनर्निर्माणका लागि ५० अर्बभन्दा बढी खर्च हुने विभागको अनुमान छ ।






