काठमाडौं, १७ भदौ २०८३ । परराष्ट्र मन्त्रालयले चीनको तिब्बतस्थित केरुङमा एक हजार ५०० नेपाली रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो। “हाल करिब १५ सय जना नेपाली नागरिकहरू केरुङमा रहेका छन् र छिट्टै फर्कन चाहनेहरूका लागि हामी चिनियाँ पक्षसँग समन्वय गरिरहेका छौँ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने ।
भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा, तनहुँ लगायतका जिल्ला ठूलो जनधनको क्षति गरेपछि उनीहरू केरुङतर्फ रोकिएका हुन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता क्षेत्रीले केरुङमा नेपालीका १७६ वटा ट्रक तथा कन्टेनर रहेको बताए । “केरुङमा रहेका १७६ वटा नेपाली ट्रक तथा कन्टेनरहरूको हकमा, तिनलाई उपयुक्त सीमा नाकाबाट डाइभर्ट गराउनका लागि हामी चिनियाँ अधिकारीहरूसँग समन्वय गरिरहेका छौँ,” प्रवक्ता क्षेत्रीले भने ।
भदौ १० गते बाढी आएपछि सीमाको चिनियाँ क्षेत्रबाट करिब एक सय नेपाली नागरिकहरू बेपत्ता भएको उनले जनाए ।






