Online Bichar
आइतबार, भाद्र ०७, २०८३ | Sunday, August 23, 2026

काठमाडौं, ७ भदौ २०८३ । काठमाडौंको शंखमूलको भ्याली ब्वाइज होस्टेलमा बस्दै आएका २२ वर्षीय युवा बसन्त कालाथोकीको सामान्य विवादमै हत्या भएको खुलेको छ । दाङका बसन्तलाई बाराका १८ वर्षीय शेखर यादव र २० वर्षीय प्रमित पटेलले शुक्रबार (भदौ ५) होस्टेलको कोठाभित्र चक्कु प्रहार गरेर हत्या गरेका थिए ।

प्रहरीले बसन्तको हत्यामा संलग्न शेखर र प्रमित दुवैजनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइसकेको छ । प्रहरीको अनुसन्धानका क्रममा शेखर र प्रमितले सामान्य विवादकै कारण बसन्तको ज्यान जाने गरी चक्कु प्रहार गरेको खुलेको हो ।

मृतक बसन्त होस्टेलको तेस्रो तल्लामा बस्दै आएका थिए । उनी विद्यार्थी भिसामा विदेश जाने तयारीमा थिए । त्यसका लागि ६ महिनाअघि देखि नै होस्टेलमा बस्दै आएका थिए ।

शेखर र प्रमित समेत विदेश जाने तयारीकै लागि होस्टेलमा बस्न थालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । एउटै होस्टेलमा बस्दै आएका उनीहरू साथी बनिसकेका थिए ।

प्रहरीको अनुसन्धानका क्रममा मृतक बसन्त र हत्यामा संलग्न दुवैजनासहित उनका थप दुई साथीहरू बिहीबारको साँझसँगै मदिरा सेवन गर्न होस्टेल बाहिर निस्किएका थिए । त्यो दिन शंखमूलको एक रेष्टुरेन्टमा बसेर राति करिब ११ बजेसम्म उनीहरूले मदिरा सेवन गरेका थिए ।

मदिरा सेवनकै क्रममा उनीहरूबीच हात हालाहाल समेत भएको थियो । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, “उनीहरूबीच न पुरानो रिसइबी हो । न, ठूलो विवाद । बिहीबारको साँझ मदिरा सेवन गर्दा उनीहरूबीच सामान्य विवाद र हात हालाहालको अवस्था आएको खुलेको छ । बसन्तले त्यो दिन उनीहरूमाथि हात हालेको बुझिएको छ । तर, ठूलो झगडा भएको होइन रहेछ ।”

शुक्रबार बिहान भने शेखर र प्रमित चक्कु बोकेर तेस्रो तल्लामा रहेको बसन्तको कोठामै प्रवेश गरे । र, अन्धाधुन्ध चक्कु हानेको खुलेको हो ।

बसन्तको कोठामा अन्य दुई साथीहरू समेत थिए । उनीहरूले चक्कु प्रहार गर्नबाट रोक्न नसकेको प्रहरीको अनुसन्धानले देखाएको छ । करिब २० सेकेन्डमै उनीहरूले अन्धाधुन्ध चक्कु प्रहार गरेर कोठाबाट निस्केका थिए ।

होस्टेलका सञ्चालक महोत्तरीका २३ वर्षीय आलोक ठाकुरलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए ।

आमाले पनि गुमाइन् ज्यान
प्रहरीका अनुसार, काठमाडौंमा छोराको हत्या भएको खबरलगत्तै दाङमा रहेका बसन्तका आमाको पनि मृत्यु भएको छ ।

छोराको हत्याको खबरले घोराहीमा रहेकी आमा बिना कालाथोकीले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डा। हेमबहादुर केसीले जानकारी दिए ।

उनले भने, “सायद हत्याको खबरले उनी विछिप्त भइन् होला । खबर सुनेको केही समयमै घरमा झुन्डिएको अवस्थामा उहाँ फेला पार्नुभएको हो ।”

उनको शव राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । मृतक बसन्तका बुबा भने वैदेशिक रोजगारीका लागि मलेसिया छन् । श्रीमतीको मृत्यु र छोराको हत्याको खबर सुनेपछि नेपाल फर्किदै छन् ।

असुरक्षित बन्दै होस्टेलहरू
बसन्तको हत्या घटनाले उपत्यकाका होस्टेलहरू असुरक्षित बन्दै गएको देखाएको छ । मापदण्डविना उपत्यकामा खोलिएका होस्टेलहरूका कारण सुरक्षा चुनौती बन्दै गएको प्रहरीको विश्लेषण छ ।

२०८२ भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा उत्रिएका अधिकांश युवाहरू होस्टेलमा बस्दै आएकाहरू रहेको थियो । जेनजी प्रदर्शनमा लुटिएको हतियार समेत त्यहाँ पुगेको सूचनाको आधारमा प्रहरीले होस्टलहरूलाई निगरानीमा राखेको छ ।

त्योबाहेक होस्टेलमा बस्दै आएका युवाहरू लागुऔषध कारोबारमा संलग्न हुने गरेको आंशका प्रहरीको थियो । शंखमूलमा युवाको हत्यापछि भने शुक्रबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंले निजी क्षेत्रबाट सञ्चालित होस्टेलहरूलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन २१ बुँदे निर्देशन नै जारी गरेको छ ।

तोकिएको एक महिनाभित्र सबै मापदण्ड पूरा गर्न निर्देशन गरिएको हो । होस्टेलमा बस्ने विद्यार्थी तथा व्यक्तिहरूसँग मानवीय व्यवहार गर्नुपर्ने, उचित भौतिक पूर्वाधार हुनुपर्ने र सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्ने विषय मुख्य प्राथमिकतामा राखिएको छ ।

होस्टेलको सञ्चालक तथा वार्डेनको विवरण नजिकको प्रहरी कार्यालयमा बुझाउनुपर्नेदेखि सीसीक्यामेरा अनिवार्य जडान हुनुपर्ने उल्लेख गरिएको छ । यसरी नै होस्टेलभित्र सूर्तीजन्य पदार्थ, मदिरा पूर्ण रूपमा बन्देज गर्न भनिएको छ ।बाह्रखरीबाट

तपाईको प्रतिक्रिया