Online Bichar
शुक्रबार, भाद्र ०५, २०८३ | Friday, August 21, 2026

काठमाडौं, ५ भदौ २०८३ । बेल्जियमका २६ वर्षीय कार बिक्रीकर्ता क्लेमेन्ट भान्डेनकेर्खोभको जीवनमा अचानक ठूलो परिवर्तन आएको छ । डीएनए परीक्षणमा ९९.५ प्रतिशत मेल भएपछि बेल्जियमका राजकुमार (राजाका भाइ) लरेन्टले उनलाई आफ्नो कानुनी छोरा स्वीकार गरेका छन् ।

बेल्जियमका राजा फिलिपका भतिजा क्लेमेन्ट अब राजकुमारको उपाधि पाउनेछन् । साथै, राजकुमार लरेन्टको निजी सम्पत्तिमा उनले आफ्ना सौतेनी दाजुभाइ तथा दिदीबहिनीसरह अधिकार पाउनेछन् । यद्यपि, उनले राजकीय भत्ता, सरकारी जिम्मेवारी वा राजगद्दीमा दाबी गर्ने अधिकार पाउने छैनन् ।

६३ वर्षीय राजकुमार लरेन्टले करिब ६ महिनाअघि अत्यन्त निजी र सीमित समारोहबीच कानुनी प्रक्रिया पूरा गरेका थिए । त्यसपछि क्लेमेन्टले लरेन्टको निजी सम्पत्तिमा उनकी सौतेनी बहिनी प्रिन्सेस लुइस (२०) तथा सौतेनी भाइहरू प्रिन्स निकोलस (२०) र प्रिन्स आयमेरिक (१९) सरह अधिकार पाएका हुन् ।

क्लेमेन्टले आफूले शाही परिवारको उपनाम ‘साक्से–कोबर्ग’ अपनाउने वा नअपनाउने भन्ने निर्णय गरिसकेका छैनन् । आफ्नो पुरानो उपनाम त्याग्नु आफ्नी आमाप्रति अन्याय हुने उनको धारणा छ ।

आमाबुवाको सम्बन्ध र १६ वर्षको उमेरमा खुलेको रहस्य
क्लेमेन्टको जन्म सन् २००० को अगस्टमा आइरिस भान्डेनकेर्खोभ उपनामले चिनेने बेल्जियमकी चर्चित गायिका वेन्डी भान भान्टनको कोखबाट भएको थियो । सन् १९९० को दशकमा पेरिसमा आयोजित एक फेसन शोका क्रममा भेट भएपछि प्रिन्स लरेन्ट र वेन्डीबीच सम्बन्ध कायम भएको थियो । त्यसपछि लरेन्टले सन् २००३ मा प्रिन्सेस क्लेयरसँग विवाह गरेका थिए ।

क्लेमेन्ट १६ वर्षको हुँदा उनकी आमाले प्रिन्स लरेन्ट नै उनका जैविक पिता भएको बताएकी थिइन् । त्यसको करिब चार वर्षपछि उनले आफैँ प्रिन्स लरेन्टलाई फोन गरेका थिए । त्यसपछि उनीहरूबीच निजी कुराकानी र भेटघाटको क्रम सुरु भएको थियो ।

सन् २०१३ मा क्लेमेन्टले एउटा सपिङ सेन्टरमा अनजानमै प्रिन्स लरेन्टलाई भेटेका थिए । त्यति बेला उनलाई आफू र प्रिन्स लरेन्टबीच रहेको सम्बन्धबारे कुनै जानकारी थिएन ।

राजकुमारको मान्यता पाउनुअघि क्लेमेन्टले डेनाइजेमा रहेको ओपल डिलरसिपमा कार बिक्रीकर्ताका रूपमा काम गर्दै आएका थिए । उनले ग्राफिक डिजाइनको अध्ययन गरेका छन् । उनलाई तीव्र गतिका कार तथा घोडाको पनि निकै सोख छ ।

गएको सेप्टेम्बरमा प्रसारित एक टेलिभिजन वृत्तचित्रमार्फत उनको पारिवारिक रहस्य सार्वजनिक भएको थियो । त्यसपछि गरिएको डीएनए परीक्षणमा ९९.५ प्रतिशत मेल देखिएपछि अन्ततः बेल्जियमको राजपरिवारले क्लेमेन्टलाई औपचारिक रूपमा प्रिन्स लरेन्टको छोरा स्वीकार गरेको हो । द टेलिग्राफबाट ।

तपाईको प्रतिक्रिया