Online Bichar
शुक्रबार, भाद्र ०५, २०८३ | Friday, August 21, 2026

काठमाडौं, ५ भदौ २०८३ । प्रशान्त महासागरमा विकसित भइरहेको ‘एल निनो’को प्रभाव इतिहासमा सबैभन्दा शक्तिशाली हुन सक्ने चेतावनी बेलायती मौसम कार्यालयले दिएको छ ।

यो शक्तिशाली प्राकृतिक जलवायु प्रणालीले विश्वव्यापी तापक्रम बढाउनुका साथै चरम मौसमी जोखिम निम्त्याउन सक्ने बताइएको छ ।

मानव–निर्मित जलवायु परिवर्तनको प्रभावसँग एल निनो जोडिएपछि सन् २०२७ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्ने ‘अत्यधिक सम्भावना’ रहेको बेलायती मौसम कार्यालयले चेतावनी दिएको छ ।

विश्वभरका मौसमी प्रणालीमा यसको प्रभाव देखिन थालेका प्रमाणहरू बढ्दै गएका बताइएको छ । एल निनोका कारण बेलायतमा वर्षात् र शरद ऋतुमा आँधीबेहरीको जोखिम बढ्न सक्ने बताइएको छ ।

“यो एक अभूतपूर्व घटना हो,” बेलायती मौसम कार्यालयका पूर्वानुमान प्रमुख प्रोफेसर एडम स्काइफले भने, “मैले हाम्रा पूर्वानुमानहरूमा कहिल्यै पनि एल निनोको यति तीव्र संकेत देखेको थिइनँ ।”

एल निनो प्राकृतिक रूपमा उत्पन्न हुने मौसमी प्रणाली हो, जुन सामान्यतया हरेक दुईदेखि सात वर्षमा दोहोरिन्छ र करिब एक वर्षसम्म रहन्छ । प्रशान्त महासागरमा पूर्वबाट पश्चिमतर्फ बहने हावा कमजोर हुन वा आफ्नो दिशा बदल्न सक्छ ।

यसका कारण तातो पानी पूर्वतर्फ फैलिन थाल्छ । महासागरबाट वायुमण्डलमा ताप उत्सर्जन हुँदा विश्वव्यापी तापक्रम बढ्नुका साथै वर्षाको ढाँचामा समेत परिवर्तन आउँछ । प्रशान्त महासागरको मध्य तथा पूर्वी क्षेत्रमा समुद्री सतहको तापक्रम औसतभन्दा ०.५ डिग्री सेल्सियस वा त्यसभन्दा बढी भएमा वैज्ञानिकहरूले एल निनोको घोषणा गर्छन् । हालका मापनअनुसार समुद्री सतहको तापक्रम सामान्यभन्दा २ डिग्री सेल्सियसभन्दा बढी माथि पुगिसकेको छ ।

मौसम कार्यालयको पछिल्लो पूर्वानुमानअनुसार यस वर्षको अन्त्यतिर एल निनो चरम बिन्दुमा पुग्दा तापक्रमको यो अन्तर ३ डिग्री सेल्सियसभन्दा बढी हुन सक्छ ।

यो सन् १९५० यताको अभिलेखमा अभूतपूर्व हुने र सम्भवतः १९औँ शताब्दीयताकै सबैभन्दा शक्तिशाली घटना हुने अनुमान गरिएको छ ।

गहिरो महासागरमा रहेको असामान्य रूपमा उच्च तापक्रमले पनि यस एल निनोलाई थप शक्तिशाली बनाउन सक्छ । केही स्थानमा १०० मिटर गहिराइमा पानीको तापक्रम सामान्यभन्दा करिब ८ डिग्री सेल्सियस बढी रहेको पाइएको छ । यसले एल निनोको प्रक्रियालाई थप ऊर्जा प्रदान गर्न सक्ने बताइएको छ ।

केही अन्य जलवायु अनुसन्धान समूहहरूले मौसम कार्यालयको अनुमानभन्दा पनि शक्तिशाली एल निनोको प्रक्षेपण गरेका छन् । उनीहरूका अनुसार समुद्री सतहको तापक्रम औसतभन्दा ४ डिग्री सेल्सियससम्म बढी हुन सक्छ ।

यदि त्यसो भयो भने, “यो घटना ५०० वा एक हजार वर्षयताकै सबैभन्दा शक्तिशाली एल निनो हुन सक्छ भन्नु असम्भव छैन,” हाउसफादरले बताए । यद्यपि, त्यति लामो समयअघिको जलवायु अवस्थाबारे यकिनका साथ निष्कर्ष निकाल्न कठिन हुने उनले बताए ।

महासागरमा तापक्रमको वितरणमा आउने परिवर्तन र माथिल्लो वायुमण्डलमा हावाको ढाँचामा हुने फेरबदलले विश्वभरको मौसममा दूरगामी प्रभाव पार्न सक्छ ।

तपाईको प्रतिक्रिया