काठमाडौं, ४ भदौ २०८३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सेनाले होर्मुज जलमार्ग हुँदै हुने समुद्री आवतजावतमा नियन्त्रण कायम राखेको दाबी गर्दै आएका छन् । गत साता उनले अमेरिकाले यस क्षेत्रको जिम्मेवारी नै आफ्नो हातमा लिन सक्ने संकेत दिएका थिए ।
मंगलबार उनले होर्मुज जलमार्ग जहाजहरूका लागि खुला रहेको दाबी गरे । तर, इरानले भने तेहरानको अनुमति नलिई पारवहन गर्ने कुनै पनि जहाजका लागि यो जलमार्ग बन्द रहेको अडान लिँदै आएको छ । अर्कोतर्फ, अमेरिकाले पनि इरानसँग सम्बन्धित जहाजहरूलाई लक्षित गर्दै नौसैनिक नाकाबन्दी लगाएको छ ।
यसैबीच, ट्रम्पले होर्मुज जलमार्गको अर्को छेउमा रहेको अमेरिकी सहयोगी राष्ट्र ओमानमाथि बमबारी गर्ने धम्की दिएका छन् । ओमान र इरानको समुद्री क्षेत्रमा पर्ने यो जलमार्गको व्यवस्थापनबारे ओमानले इरानसँग कुनै सम्झौता नगरोस् भन्ने उद्देश्यले यस्तो धम्की दिइएको बताइएको छ ।
होर्मुज जलमार्गमा कसको नियन्त्रण छ ?
दुवै पक्षका दावी र प्रतिदावीबीच होर्मुज जलमार्गबाट आवतजावत गर्ने वास्तविक जहाजहरूको तथ्यांकले महत्त्वपूर्ण संकेत दिने बताइएको छ । युद्ध सुरु हुनुअघि हर्मुज जलमार्गलाई मुख्यतः ‘इरानी’ वा ‘ओमानी’ मार्गका रूपमा छुट्याएर हेरिँदैनथ्यो । जहाजहरू जलमार्गको मध्य भागमा स्थापित समुद्री यातायात प्रणालीअनुसार आवतजावत गर्ने गर्थे ।
जहाजहरू कुन बाटो भएर जाने भन्ने निर्णय सैन्य कारबाहीको डरभन्दा पनि बन्दरगाहमा हुने आवागमन, चार्टरका सर्त र सुरक्षाजस्ता विषयमा निर्भर हुन्थ्यो । तर, अमेरिका र इरानबीच तनाव बढेपछि होर्मुज जलमार्गलाई दुई मुख्य मार्गका रूपमा हेर्न थालिएको छ ।
इरानले उत्तरी ‘इरानी मार्ग’मा जोड दिँदै आएको छ । यो मार्ग लाराक र केश्म टापुनजिकै इरानी तटलाई पछ्याउँदै इरानी बन्दरगाह तथा तटीय टर्मिनलतर्फ जान्छ । अर्को दक्षिणी ‘ओमानी मार्ग’ हो, जुन ओमानको नजिक र इरानी तटीय क्षेत्रबाट टाढा छ । अमेरिकाले यही मार्गमा जोड दिँदै आएको छ । अमेरिकी नौसैनिक सुरक्षाअन्तर्गत व्यापारिक जहाजहरूले यसलाई प्रयोग गर्ने गरेका छन् ।
तेल र ग्यास बोक्ने जहाजहरूले कुन मार्ग प्रयोग गरिरहेका छन् ?
समुद्री गुप्तचर संस्था ‘केपलर’को तथ्यांकअनुसार अगस्ट १ देखि १९ सम्म कच्चा तेल, तरल पेट्रोलियम ग्यास र तरल प्राकृतिक ग्यास बोकेका ११२ वटा जहाज होर्मुज जलमार्ग हुँदै खाडीमा प्रवेश गरेका वा बाहिरिएका छन् ।
ती ट्यांकर तथा ग्यासवाहक जहाजमध्ये २१ वटाले खुला रूपमा इरानी मार्ग प्रयोग गरे । दुईवटाले आधिकारिक रूपमा ओमानी मार्ग प्रयोग गरे । बाँकी ८९ वटा जहाजले ‘डार्क’ अर्थात् ‘अटोमेटिक आइडेन्टिफिकेसन सिस्टम’ ९एआईएस० ट्रान्सपोन्डर बन्द गरेर वा अन्य अज्ञात तथा वर्गीकृत नगरिएको मार्ग प्रयोग गरेर यात्रा गरे । जहाजले आफ्नो एआईएस ट्रान्सपोन्डर बन्द गर्दा वा एआईएस तथ्यांक केपलरले परिभाषित गरेको इरानी वा ओमानी करिडोरसँग नमिल्दा जहाजको वास्तविक मार्ग पूर्ण रूपमा ट्रयाक गर्न सकिँदैन । त्यसैले यी जहाजले कुन मार्ग प्रयोग गरे भन्ने स्पष्ट छैन ।
तेल र ग्यासबाहेक अन्य कार्गोको अवस्था कस्तो छ ?
केपलरको तथ्यांकअनुसार अगस्ट १ देखि १९ सम्म कुल २३६ वटा जहाज हर्मुज हुँदै आवतजावत गरेका छन् । यसमा तेल तथा ग्यास बोक्ने जहाजका साथै सुक्खा कार्गो र रसायन बोक्ने जहाज पनि छन् ।
यीमध्ये ८३ वटाले खुला रूपमा इरानी मार्ग प्रयोग गरे भने केवल तीनवटाले सार्वजनिक रूपमा ओमानी मार्ग प्रयोग गरे । दुईवटा जहाजले युद्ध सुरु हुनुअघिको जस्तै जलमार्गको मध्य भागबाट जाने मार्ग प्रयोग गरे । तर, अधिकांश ९१४८ वटा० जहाजले एआईएस बन्द गरे वा होर्मुज पार गर्दा अज्ञात मार्ग प्रयोग गरे । यो यस अवधिमा जलमार्ग पार गर्ने १० मध्ये ६ भन्दा बढी जहाज हो ।
तुलनात्मक रूपमा, ३५ प्रतिशत जहाजले खुला रूपमा इरानी मार्ग प्रयोग गरेका छन् । निकै कम जहाजले ओमानी वा युद्धपूर्वको मार्ग सार्वजनिक रूपमा प्रयोग गरेका छन् ।
किन यति धेरै जहाजले ट्रान्सपोन्डर बन्द गरिरहेका छन् ?
युद्ध सुरु भएदेखि नै इरान र अमेरिकाले समुद्री यात्राका लागि तोकिएका मार्ग वा नियम उल्लंघन गरेको आरोपमा जहाजहरूलाई धम्की मात्र दिएका छैनन्, केही जहाजमाथि आक्रमण समेत गरेका छन् । त्यसैले धेरै जहाजले आफ्ना ट्रान्सपोन्डर बन्द गर्ने गरेका छन्, ताकि सैन्य बलले उनीहरूलाई पहिचान तथा लक्षित गर्न प्रयोग गर्ने डिजिटल संकेत हटाउन सकियोस् ।
अगस्ट ८ मा संयुक्त अरब इमिरेट्सले जलमार्ग पार गर्ने क्रममा इरानले अबुधाबी नेसनल आयल कम्पनीको स्वामित्वमा रहेको एउटा ट्यांकरमाथि मिसाइल आक्रमण गरेको आरोप लगाएको थियो । अबुधाबी राष्ट्रिय तेल कम्पनीले एक वक्तव्यमार्फत युद्ध सुरु भएदेखि जलमार्ग हुँदै यात्रा गर्ने क्रममा आफ्ना १५ वटा जहाजमाथि मिसाइल तथा ड्रोन आक्रमण भएको जनाएको थियो ।
ती घटनामा एक कर्मचारीको मृत्यु र २० जना घाइते भएको कम्पनीले जनाएको थियो । यद्यपि, अबुधाबी राष्ट्रिय तेल कम्पनीले कुनै पनि पक्षलाई प्रत्यक्ष रूपमा दोष दिएको थिएन ।
विज्ञहरूका अनुसार, ट्रान्सपोन्डर बन्द गर्नुको अर्को कारण यात्राकै क्रममा गोप्य रूपमा जहाजबाट अर्को जहाजमा कार्गो स्थानान्तरण गर्नु पनि हो । उदाहरणका लागि, इरानी मिसाइलको जोखिमबाट बच्न चाहने जहाजले ट्रान्सपोन्डर बन्द गरेर ओमानी मार्ग हुँदै यात्रा गर्न सक्छ ।
त्यसपछि जलमार्गबाहिर अर्को जहाजमा आफ्नो कार्गो स्थानान्तरण गरेर उक्त जहाजलाई अन्तिम गन्तव्यतर्फ पठाउन सक्छ । मूल ‘डार्क’ जहाज भने पहिचान नखुलाइकन पहिले आएको आफ्नो बन्दरगाहमा फर्कन सक्छ ।
जहाजहरू इरान वा अमेरिकामध्ये कसको अवज्ञा गर्न बढी डराउँछन् ?
जलमार्ग हुँदै जाने अधिकांश जहाजले ट्रान्सपोन्डर बन्द गरिरहेका वा अज्ञात मार्ग प्रयोग गरिरहेका कारण अहिले वास्तवमा कति जहाजले इरानी वा ओमानी मार्ग प्रयोग गरिरहेका छन् भन्ने ठ्याक्कै थाहा पाउन कठिन छ । यसले होर्मुजमा अहिले कसको ‘नियन्त्रण’ छ भन्ने निष्कर्ष निकाल्न कठिन बनाउँछ ।
विश्वकै शक्तिशाली नौसैनिक शक्तिको समर्थन रहेको अमेरिकी नौसैनिक नाकाबन्दीका बाबजुद ऊर्जा बोकेका करिब पाँचमध्ये एक जहाजले ट्रम्पका धम्कीको अवज्ञा गर्दै खुला रूपमा इरानी मार्गबाट होर्मुज पार गरेका छन् । तेल तथा ग्यासबाहेक कार्गो र रसायन बोक्ने जहाजसमेत समावेश गर्दा खुला रूपमा इरानी मार्ग प्रयोग गर्ने जहाजको हिस्सा ३५ प्रतिशत पुगेको छ ।
यसको विपरीत, केवल दुईवटा तेल तथा ग्यास जहाज र समग्रमा चारवटा जहाजले मात्र इरानले तोकेको मार्गबाहेक अन्य मार्ग खुला रूपमा प्रयोग गरेका छन् । उपलब्ध तथ्यांकले जहाज सञ्चालकहरू अमेरिकाको तुलनामा इरानलाई रुष्ट बनाउन बढी सावधान रहेको संकेत गर्ने बताइएको छ ।
यद्यपि, धेरै जहाजले एआईएस बन्द गरेका कारण वास्तविक तस्बिर पूर्ण रूपमा स्पष्ट छैन । यसबाट के देखिन्छ भने अमेरिकी नौसैनिकको उपस्थिति र नाकाबन्दीका बाबजुद होर्मुज जलमार्गमा समुद्री यातायातमाथि प्रभाव पार्ने महत्त्वपूर्ण क्षमता इरानसँग अझै कायम छ । त्यसैले ट्रम्पले अमेरिकी नियन्त्रणको दाबी गरे पनि वास्तविक समुद्री आवतजावतको तथ्यांकले होर्मुजमा इरानको प्रभावलाई बेवास्ता गर्न नसकिने देखाउने बताइएको छ ।






