Online Bichar
आइतबार, साउन ३१, २०८३ | Sunday, August 16, 2026

काठमाडौं, ३१ साउन २०८३ । नेपाल आयल निगमले होटेल, रेष्टुरेन्ट, पार्टी प्यालेस लगायतका व्यावसायिक प्रतिष्ठानहरूमा आवश्यकताभन्दा बढी ग्यास सिलिण्डर मौज्दात नराख्न आग्रह गरेको छ ।

निगमले द्रुत प्रतिकार्य डेस्कमा प्राप्त उजुरी तथा जानकारी समेतका आधारमा बजार अनुगमन गर्दा होटेल, रेष्टुरेन्ट, पार्टी प्यालेस लगायतका व्यावसायिक प्रतिष्ठानहरूमा आवश्यकताभन्दा बढी ग्यास सिलिण्डर मौज्दात राखिएको पाइएको जनाएको छ ।

“त्यसरी अनावश्यक मौज्दात नराख्न तथा राखेको भए तत्काल सम्बन्धित डिपोमार्फत सर्वसाधरण उपभोक्तालाई बिक्री बितरण गर्न गराउन हुन निगम हार्दिक अपिल गर्दछ,” निगमको सूचनामा छ ।

असार ३१ गतेदेखि बजारमा १४.२ किलोग्रामको भरी सिलिन्डर बिक्री वितरणमा रहेको र साविकको भन्दा करिब २० प्रतिशत बढी ग्यास आयात तथा बिक्री वितरण भइरहेको सन्दर्भमा सर्वसाधरण उपभोक्ताहरूले अझै पनि बजारबाट सहजरूपमा ग्यास नपाइरहेको गुनासोप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।

सूचनाविपरीत कहीँ कतै ग्यास सिलिण्डर मौज्दात राखेको भेटिएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने निगमले चेतावनी दिएको छ ।

 

तपाईको प्रतिक्रिया