वीरगन्ज, ३० साउन २०८३ । वीरगन्ज नाकाबाट तीन वर्षको अवधिमा मानव बेचबिखन तथा ओसारपसारको जोखिममा परेका ३ सय ७८ जना महिला तथा बालबालिकालाई उद्धार गरिएको छ। नाकामा परिचालित माइती नेपाल र प्रहरीको पहल र सहयोगमा आर्थिक वर्ष २०८०/०८१ देखि आर्थिक वर्ष २०८२/०८३ सम्म तीन वर्षको अवधिमा ३ सय ७८ जना महिला तथा बालबालिकालाई उद्धार गरिएको हो।
वीरगन्जमा आयोजित एक कार्यक्रममा माइती नेपालकी पर्सा संयोजक गोमा पौडेलले वीरगन्ज नाकाबाट आर्थिक वर्ष २०८०/०८१ मा ७९ महिला र ३२ बालिका गरी १११ जना, आर्थिक वर्ष २०८१/०८२ मा १०९ महिला र ६० बालिका गरी १६९ जना र गत आर्थिक वर्ष २०८२/०८३ मा ६३ महिला र ३५ बालिका गरी ९८ जनालाई उद्धार गरिएको जानकारी गराइन्।
गत आर्थिक वर्ष २०८२/८३ मा सीमा नाकाबाट उद्धार गरी घर फर्काइएका ९८ जनामा १६ देखि १९ वर्ष उमेर समूहका ३५ जना र १९ वर्षभन्दा माथिका ६३ जना महिला तथा बालिकाहरू रहेको माइती नेपालले जनाएको छ। ती ९८ जनामध्ये सबैभन्दा धेरै मधेस प्रदेशका ५१ जना, पर्साका २० जना , बाराका १६ जना, सर्लाहीका ७ जना, रौतहट, धनुषा र सप्तरीका २/२ जना तथा सिराहाका १ जना० रहेका छन्। यस्तै बागमती प्रदेशका २२ जना, कोशी प्रदेशका १० जना, गण्डकी प्रदेशका ५ जना, लुम्बिनीका ४ जना, कर्णाली प्रदेशका २ जना र सुदूरपश्चिम प्रदेशका १ जना रहेका छन्। वीरगन्ज नाका हुँदै भारत प्रवेश गर्न लागेका उनीहरुलाई सीमामै रोकेर उद्धार गरी अभिभावकको जिम्मा लगाएर घर फर्काइएको उनले बताइन्।
‘प्रेम सम्बन्ध’ र ‘नेटवर्किङ कम्पनी’ मुख्य चुनौती
पौडेलका अनुसार पछिल्लो समय मानव बेचबिखन र ओसारपसारको स्वरूप फेरिँदै गएको छ। पछिल्लो समय १६ देखि १९ वर्ष उमेर समूहका किशोरीहरू सामाजिक सञ्जालमार्फत चिनजान गरी ‘प्रेम सम्बन्ध’को बहानामा बढी जोखिममा पर्ने गरेको देखिएको उनले बताइन्।
नेपाल–भारत सीमा क्षेत्रमा मानव बेचबिखन तथा ओसारपसारको जोखिमपूर्ण अवस्थामा रहेकाहरू भारत जानुको मुख्य कारण ‘प्रेम सम्बन्ध’ र ‘नेटवर्किङ कम्पनी’को प्रलोभन देखिएको छ। माइती नेपाल लगायतका संघ–संस्था र सुरक्षा निकायले सीमा नाकामा गरेको कडाइ र निगरानीका क्रममा यस्तो तथ्य फेला परेको पौडेलले जानकारी गराइन्।
उनका अनुसार गत आर्थिक वर्षमा भारत जान लागेको अवस्थामा वीरगन्ज नाकामा रोकिएका कुल ९८ जनामध्ये सबैभन्दा धेरै ३४ जना प्रेम सम्बन्धमा परी भारततर्फ जान लागेका थिए। यो तथ्यांकले बालिका र किशोरीहरू भावनात्मक सम्बन्धको आवरणमा बेचबिखनको ठूलो जोखिममा रहेको प्रस्ट पारेको उनले बताइन्।
यस्तै उद्धार गरिएका ९८ जनामध्ये १५ जना घुम्ने बहानामा,१२ जना नेटवर्किङ कम्पनीमा काम गर्ने लोभमा, ११ जना जाने ठाउँ उद्देश्यको अत्तोपत्तो नभएका, ९ जना सामान किन्न जाने बहाना ,७ जना अन्य काम गर्ने बहाना, ४ जना आफन्त भेटघाट गर्न, ३ जना आर्केस्ट्रामा काम गर्न, २ जना उपचारको बहाना र १ जना वैदेशिक रोजगारमा जाने बहाना बनाएकाहरु रहेको उनले जानकारी गराइन्।अन्नपूर्णपोष्टबाट






