काठमाडौं, ३० साउन २०८३ । नुवाकोटमा सवारीसाधन दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् । शनिबार (साउन ३०) बिहान करिब ८ः२५ बजे शिवपुरी गाउँपालिका–७, थानाभञ्ज्याङमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
उक्त स्थानमा चियाखाजा खाने ठाउँमा बा.प्र.०८–१ ख ००५२ नम्बरको बस रोकिएको थियो । सोही स्थानमा अगाडिपट्टि बा.प्र.३–००१ ज ११७६ नम्बरको माइक्रो भ्यान पार्किङ गरिएको थियो ।
उक्त बस अचानक गुडेर पार्किङ गरेर राखिएको माइक्रो भ्यानलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी इकवाल हवारीले जानकारी दिए ।
बसले माइक्रोलाई ठक्कर दिएपछि यी दुवै सवारीसाधन सडकबाट करिब ३०/४० मिटर तल भीरमा खसेका थिए । दुर्घटनामा परी मृत्यु र घाइते हुनेमा बसमा सवार यात्रु रहेका उनले बताए ।
दुर्घटनामा पाँचजना घाइते भएका थिए । उपचारका निम्ति उनीहरूलाई काठमाडौंस्थित ग्रीनसिटी अस्पतालमा ल्याइएको थियो । घाइतेमध्ये दुईजनालाई अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ की ५४ वर्षीया कृष्णमाया प्रजापति डंगोल र रामेछापको खाँडादेवी गाउँपालिका–२ की ६५ वर्षीया उदयमाया खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते तीनमा सर्लाही, काभ्रे र दोलखाका एकरएक महिला छन् । घाइतेको उपचार सोही अस्पतालमा भइरहेको छ । बसका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
“चियाखाजा खाने ठाउँमा बस र माइक्रो रोकिएको रहेछ, अरू सबै यात्रु तल झर्नुभएको रहेछ,” डीएसपी हवारीले बाह्रखरीसित भने, “बस एक्कासि स्लिप भएर माइक्रोलाई ठक्कर दिएर दुर्घटना भएको हो । त्यति बेला बसमा सवार पाँचजना महिला दुर्घटनामा पर्नुभयो ।”






