काठमाडौं, ३१ साउन २०८३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र पुनर्गठनको वकालत गर्नेहरूलाई अराजक संज्ञा दिएका छन् ।
झापा एमालेले गरेको ‘मिसन पार्टी जागरण अभियान’को उद्घाटन गर्दै ओलीले अध्यक्ष फेर्ने भन्दै अराजक गतिविधि नगर्न चेतावनी दिएका हुन् ।
‘सामाजिक सञ्जालमा स्टाटस लेखेर अध्यक्ष हटाउने ? हस्ताक्षर क्याम्पेन गरेर अध्यक्ष हटाउने रु पार्टीमा यस्तो शैली सह्य हुँदैन,’ ओलीले भनेका छन् ।
एमाले अहिले पुनर्गठनको अवस्थामा नरहेको पनि उनले बताए । ‘आज पुनर्गठन होइन, पुनर्जागरणको अवस्थामा छौं,’ ओलीले भने । नेतृत्व फेर्ने प्रक्रियालाई मात्र पुनर्गठन नभनिने तर्क समेत उनले गरे । ‘अहिले पार्टी पुनर्गठन जो भनिएको छ, वास्तवमा पुनर्गठन होइन । कुनै जनसंगठनको होला, सिंगै पार्टीको पुनर्गठन होइन,’ ओलीले भने, ‘कुनै कमिटीको होला । त्यस्तो व्यापक रूपमा भइरहन्छ । अधिवेशनहरू गरिरहन्छौं, पुनर्गठन हुँदैन ।’
विगतका अध्यक्षहरूको नाम लिएर ओलीले नेतृत्व फेर्ने कुरा मात्र पुनर्गठन नभएको बताए । नीति, गन्तव्य र कार्यक्रम बदल्ने कुरा चाहिँ पुनर्गठन हुने ओलीको भनाइ थियो ।
आफ्नो नेतृत्वमा कुनै समस्या नरहेको पुष्टि गर्न ओलीले विगतका घटनाक्रमहरूको लामै व्याख्या गरे । बेलाबेला आफूविरुद्ध पार्टीभित्र गतिविधि हुने गरेको पनि ओलीले सम्झिए ।
‘२०२९ सालदेखि २०३२ सालसम्म सीपी मैनालीहरूले मलाइ सदस्यविहीन बनाए’, ओलीले भने ।
फेरि ०७७ सालमा प्रचण्ड र माधवकुमार नेपालहरूले पार्टीबाट निस्कासन गरेको प्रसंग सुनाउँदै ओलीले आफूले हरेकपटक पार्टी बचाउँदै आएको तर्क गरे ।
आफ्नो नेतृत्वमा भएका कामको लामो बयानपछि ओलीले पार्टी सदस्यहरूको आलोचना गरे ।
‘हाम्रो पार्टीमा सदस्य भन्दा कम भोट आयो । सुन्दा लाज हुन्छ,’ ओलीले भने, ‘कस्तो सदस्य ?’
पार्टीलाई भोट नहाल्ने सदस्यको नवीकरण नगर्न निर्देशन पनि दिए । ‘सदस्यको नवीकरण गर्नुस्, गैर सदस्यको होइन,’ उनले भने, ‘नयाँ सदस्य थप्नुस् ।’
सदस्यहरूको आलोचना गरेपछि नेताहरूविरुद्ध ओली खनिए । ‘पर्याप्त खान पाएकाहरूले गुनासो गरेका छन्,’ ओलीले भने, ‘केही नपाएकाले यसपटक पनि भोट हाले । केही पाएकाले यसपटक पनि भोट हालेनन् ।’
पार्टीको खाएर गुनासो गर्नेहरूलाई ओलीले ‘किर्ना’को संज्ञासमेत दिए । ‘एमालेलाई पनि भैंसी बनाउन खोजेका छन् साथीहरूले,’ ओलीले भने ।
सम्बोधनका क्रममा पार्टीभित्र लोकतन्त्र जीवित रहेको र सबैको कुरा सुन्ने गरेको पनि उनले बताए । ‘मैले जिन्दगीमा अहिलेसम्म कडा वचन, कडा स्वर कहिले प्रयोग गरेको छैन,’ ओलीले भने ।
हप्काएर नेता बेहोस् भयो भन्ने प्रचार सही नभएको ओलीको प्रष्टोक्ति थियो । ‘कसैलाई हप्काउन पाइँदैन । कोही मालिक र कोही दास छैन,’ उनले भने ।






