Online Bichar
मंगलबार, साउन २६, २०८३ | Tuesday, August 11, 2026

मुम्बई, २५ साउन २०८३ । हिन्दी फिल्म ‘जोरू का गुलाम’का निर्देशक ७३ वर्षीय शकील नूरानीलाई यौन उत्पीडन र दुष्कर्मको मामिलामा प्रहरीले गिरफ्तार गरेको छ।

एक ३३ वर्षीया अभिनेत्रीले उनीमाथि यौन शोषण र ब्ल्याकमेलिङसहित धेरै आरोप लगाउँदै उजुरी दर्ता गराएपछि उनलाई पक्राउ गरिएको हो।

मुम्बई प्रहरीमा दर्ता भएको उजुरीअनुसार अभिनेत्री र शकील नूरानीको पहिलो भेट सन् २०१६ मा लोखण्डवालास्थित एक अवार्ड कार्यक्रमका क्रममा भएको थियो। नूरानीले अभिनेत्रीसँग आगामी प्रोजेक्टका बारेमा कुरा गर्दै कामका लागि सम्पर्क गर्न भनेका थिए।

त्यसपछि अभिनेत्री स्क्रिप्ट पढ्नका लागि नूरानीको मालवानीस्थित घरमा गएकी थिइन्। त्यहाँ नूरानीले उनलाई सफ्ट ड्रिङ्क पिउन दिएका थिए, जुन पिएपछि उनी बेहोस भएकी थिइन्।

अभिनेत्रीले जाहेरीमा आरोप लगाएअनुसार होस आएपछि नूरानीले आफ्नो मोबाइलमा उनको भिडियो देखाएका थिए। प्रहरीलाई खबर गरेमा वा परिवारलाई जानकारी दिएमा भिडियो सार्वजनिक गरिदिने धम्की उनले दिएका थिए।

नूरानीले यही भिडियोका आधारमा धम्क्याउँदै पटक(पटक यौन उत्पीडन गरेको आरोप अभिनेत्रीको छ। यौन सम्बन्धपछि उनले आफूलाई बारम्बार गर्भनिरोधक चक्कीहरू दिने गरेको पनि उनले बताएकी छन्।

जाहेरी दर्ता भएपछि मालवानी प्रहरीले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा नूरानी सातारा जिल्लाको मेधा क्षेत्रमा रहेको एक फार्महाउसमा लुकेर बसेको थाहा भयो।

मालवानी प्रहरीका अनुसार जाहेरी दर्ता भएपछि नूरानी ४० दिनसम्म लुकेर बसेका थिए। प्राविधिक सहयोगका आधारमा उनलाई साताराको मेधास्थित फार्महाउसमा फेला पारिएको र मेधा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरी अधिकारीले बताएका छन्। प्रहरीले शकील नूरानीलाई शनिबार अदालतमा पेश गरेको थियो। अदालतले उनलाई १२ अगस्टसम्मका लागि प्रहरी हिरासतमा पठाएको छ।

डीसीपी सन्दीप घुगेका अनुसार प्रहरीले यस मामिलामा थप जानकारी सङ्कलन गरिरहेको छ। अर्कोतर्फ नूरानीका वकील विकास सिंहले मिडियासँग कुरा गर्दै उनलाई झुटा मुद्दामा फसाइएको दाबी गरेका छन्। मामिला अदालतमा विचाराधीन रहेकाले थप टिप्पणी नगर्ने उनले बताएका छन्।

तपाईको प्रतिक्रिया