Online Bichar
बिहिबार, साउन २१, २०८३ | Thursday, August 6, 2026

काठमाडौं, २० साउन २०८३ । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित जेबेल अली औद्योगिक क्षेत्रमा बुधबार राति श्रृंखलाबद्ध विस्फोट भएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा रातिको आकाशमा बाक्लो कालो धुँवा फैलिएको देखिने एनडीटीभले जनाएको छ ।

इमिराती अधिकारीहरूलाई उद्धृत गर्दै इरानको मेहर समाचार एजेन्सीले करिब २० मिनेटको अन्तरालमा कम्तीमा सातवटा विस्फोट भएको जनाएको छ । रिपोर्टअनुसार घटनास्थलको भिडियो खिचेको आरोपमा दुईजनालाई पक्राउ गरिएको छ ।

यसबीच केही इराकी सञ्चारमाध्यमहरूले जारी अमेरिका–इरान द्वन्द्वका क्रममा यमनबाट संयुक्त अरब इमिरेट्सतर्फ क्षेप्यास्त्र प्रहार गरिएको दाबी गरेका छन् । तर, इमिराती अधिकारी वा स्थानीय सञ्चारमाध्यमले भने विस्फोटको कारणबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरेका छैनन् ।

मेहर समाचार एजेन्सीले उद्धृत गरेको नासाको थर्मल इमेजरी विश्लेषणअनुसार जेबेल अली बन्दरगाहनजिक इन्धन भण्डारण तथा स्थानान्तरणका लागि प्रयोग हुने एउटा गोदाममा आगलागी भएको संकेत देखिएको छ ।

घटनाबाट भएको क्षति तथा सम्भावित मानवीय हताहतबारे तत्काल कुनै आधिकारिक विवरण सार्वजनिक गरिएको छैन । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा विस्फोटपछि आवासीय क्षेत्रनजिकैबाट बाक्लो धुवाँको मुस्लो आकाशतर्फ उठिरहेको देखिन्छ ।

दुबई सहरको केन्द्रबाट करिब ४० किलोमिटर दक्षिण–पश्चिममा रहेको जेबेल अली यूएईको प्रमुख औद्योगिक तथा व्यापारिक केन्द्र हो । अमेरिका–इरानबीचको बढ्दो तनावका कारण यूएई पछिल्ला दिनहरूमा उच्च सतर्कतामा रहेको छ ।

अमेरिकी सहयोगी मुलुकका रूपमा यूएईलाई इरान वा उसका क्षेत्रीय साझेदार समूहहरूको सम्भावित प्रतिशोधात्मक कारबाहीको जोखिम रहेको विश्लेषण हुँदै आएको छ । यद्यपि, जेबेल अलीमा भएको विस्फोट र त्यसबीच कुनै सम्बन्ध रहेको विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन ।

तपाईको प्रतिक्रिया