Online Bichar
बुधबार, साउन २०, २०८३ | Wednesday, August 5, 2026

भारत, १९ साउन २०८३ । थाइल्याण्डको फुकेटबाट दिल्ली आउँदै गरेको एयर इन्डियाको एआई–२३७९ उडानमा मंगलबार अचानक तीव्र टर्बुलेन्स (हावाको अस्थिरता) भएपछि विमान करिब ३०० फिट तल झरेको छ । यस घटनामा १० जना यात्रु र ४ जना क्याबिन क्रु सदस्य गरी १४ जना घाइते भएका छन् ।

क्याबिन क्रुका एक सदस्य गम्भीर घाइते भएका छन् भने अन्यलाई सामान्य चोट लागेको बताइएको छ । विमान भने सुरक्षित रूपमा दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । सबै यात्रु र चालक दलका सदस्य सुरक्षित रूपमा विमानबाट बाहिरिएका छन् ।

एयर इन्डियाले के भन्यो ?

एयर इन्डियाले जारी गरेको आधिकारिक विज्ञप्तिमा फुकेटबाट दिल्लीका लागि उडेको एआई–२३७९ उडानमा टर्बुलेन्स जस्तो घटना भएको पुष्टि गरेको छ । कम्पनीका अनुसार यस क्रममा विमानको उचाइ केही समयका लागि अप्रत्याशित रूपमा घटेको थियो ।
उचाइमा आएको यस अचानक परिवर्तनका कारण केही यात्रु र चालक दलका सदस्य घाइते भएका हुन् । यद्यपि विमान सुरक्षित रूपमा दिल्ली विमानस्थलमा अवतरण गरिएको र सबै यात्रु तथा चालक दल सुरक्षित रहेको एयर इन्डियाले जनाएको छ ।

क्याबिन क्रुका एक सदस्य गम्भीर घाइते

भारतको नागरिक उड्डयन महानिर्देशनालयका एक अधिकारीका अनुसार पाइलटले दिएको प्रतिवेदनमा उडानका क्रममा विमान अचानक करिब ३०० फिट तल झरेको उल्लेख गरिएको छ । यस घटनाका कारण क्याबिन क्रुका एक सदस्य गम्भीर घाइते भएका छन् । अर्का एक क्रु सदस्य पनि घाइते भएका छन् भने केही यात्रुलाई सामान्य चोट लागेको अधिकारीले बताएका छन् ।

घाइतेहरूको अस्पतालमा उपचार

अर्का एक अधिकारीका अनुसार घाइते यात्रु र चालकदलका सदस्यलाई तुरुन्तै स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो । उनीहरूमध्ये केहीलाई गुरुग्रामस्थित मेदान्ता अस्पताल र वसन्त कुञ्जस्थित इन्डिया स्पाइनल इन्जुरी सेन्टरमा थप उपचारका लागि भर्ना गरिएको छ ।

दिल्ली विमानस्थलमा उच्च सतर्कता

घटनाको जानकारी प्राप्त हुनासाथ दिल्ली विमानस्थल प्रशासनलाई सतर्क बनाइएको थियो । विमान अवतरण गर्ने बित्तिकै चिकित्सकहरूको टोली रनवे नजिक तयारी अवस्थामा रहेको थियो । घाइतेहरूलाई प्राथमिक उपचारपछि आवश्यक परेकालाई थप उपचारका लागि अस्पताल पठाइएको थियो ।

फुकेटबाट बिहान उडेको थियो विमान

उक्त विमान बिहान ८ः२५ बजे थाइल्याण्डको फुकेट विमानस्थलबाट उडेको थियो । करिब अढाइ घण्टाको उडानपछि बिहान ११ बजे दिल्ली पुगेको थियो । उडानका क्रममा यस्तो घटना भए पनि पाइलटले विमानलाई सुरक्षित नियन्त्रणमा राख्दै निर्धारित समयमा सफलतापूर्वक अवतरण गराएका थिए।

एयर इन्डियाले पुनः दोहोर्‍याउँदै सबै यात्रु र चालक दल सुरक्षित रहेको जनाएको छ । उपचार आवश्यक परेका घाइतेलाई विमानस्थलमै उपलब्ध स्वास्थ्य सेवामार्फत आवश्यक उपचारका लागि पठाइएको र यात्रुहरूलाई अनावश्यक रूपमा नआत्तिन आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया