काठमाडौं, ५ साउन २०८३ । भारतको सिक्किम राज्यको नामची जिल्लास्थित समरडुङमा निर्माणाधीन एनएचपीसीको टिस्टा स्टेज–६ सुरुङमा सोमबार गएको पहिरोमा कम्तीमा १० जनाको मृत्यु भएको छ । धेरै कामदार अझै पनि सुरुङभित्र थुनिएको आशंका गरिएको छ ।
शव पोस्टमार्टमका लागि नजिकैका अस्पतालमा पठाइएको छ । जिल्ला प्रशासन, राष्ट्रिय तथा राज्यस्तरीय उद्धार एजेन्सीहरू र आयोजनासँग सम्बन्धित प्राविधिक टोली संयुक्त रूपमा राहत तथा उद्धार कार्यमा जुटेका छन् ।
उक्त सुरुङ टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाअन्तर्गत पटेल इन्जिनियरिङद्वारा निर्माण भइरहेको थियो । प्रारम्भिक जानकारीअनुसार सुरुङभित्र अचानक पहिरो खस्दा सुरुङको एक भाग लेदो र ढुंगामाटोले भरिएको छ । दुर्घटना हुँदा सुरुङभित्र निर्माण कार्य जारी थियो ।
सुरुङभित्र मिथेन ग्यास चुहावट हुन थालेपछि अवस्था थप जटिल बनेको छ । उद्धारमा खटिएका कर्मचारीहरूले विशेष सुरक्षा उपकरण तथा ग्यास अनुगमन प्रणालीको प्रयोग गर्दै सावधानीपूर्वक उद्धार कार्य अघि बढाइरहेका छन् ।
अधिकारीहरूका अनुसार करिब २७ जना सुरुङभित्र थुनिएको आशंका गरिएको छ । जिल्ला प्रशासनका अनुसार दुर्घटनाको वास्तविक कारण अझै खुल्न सकेको छैन । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ । द हिन्दूबाट ।






