काठमाडौं , ५ साउन २०८३ । भारतको राजधानी नयाँ दिल्लीको जन्तरमन्तरमा चलिरहेको ‘ककरोच जनता पार्टी’ (सीजेपी) को विरोध प्रदर्शन मंगलबार (२१ जुलाई) २४औँ दिनमा प्रवेश गरेको छ । एक दिनअघि भएको ‘संसद् चलो’ (संसद् मार्च) का क्रममा भएका हिंसात्मक झडप र भारी वर्षाका बाबजुद प्रदर्शनकारीहरू राति अबेरसम्म धर्नामा बसिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । पार्टीले आन्दोलन मंगलबार पनि जारी रहने बताएको छ ।
प्रदर्शनकारीहरूले भारतको केन्द्र सरकारविरुद्ध नाराबाजी गरेका छन् । उनीहरूले प्रधानमन्त्री नरेन्द्र मोदी र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग दोहोर्याएका भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
सीजेपीका प्रवक्ता आशुतोष रांकाले सरकारसँगको वार्तामा हालसम्म कुनै ठोस प्रगति नभएको बताएका छन् । सोमबार (२० जुलाई) रांका र सौरभ दासले केन्द्रीय स्वास्थ्यमन्त्री जेपी नड्डासँग भेट गरेका थिए । तर, त्यसपछि सरकारका तर्फबाट कुनै जवाफ नआएको उनले बताए । रांकाले वार्ताका नाममा पाँच घण्टा खेर गएको आरोप लगाएका छन् । सरकार संवाद गर्न चाहन्छ भने जन्तरमन्तरमै आएर प्रदर्शनकारीहरूसँग प्रत्यक्ष कुरा गर्नुपर्ने बताए ।
भारतको नीट परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणमा जवाफदेहिता सुनिश्चित माग गरेका छन् । शिक्षामन्त्रीको राजीनामालगायत आफ्ना माग पूरा नभएसम्म धर्ना जारी रहने सीजेपीले स्पष्ट पारेको छ ।
अर्कोतर्फ, सामाजिक अभियन्ता सोनाम वाङचुकले पनि आफ्नो आमरण अनशन जारी राख्ने घोषणा गरेका छन् । विद्यार्थी प्रतिनिधिहरूलाई संसद्का सदस्यहरूसँग भेट्न नदिइएसम्म तथा आफूलाई अस्पतालमा उनीहरूसँग भेट्न अनुमति नदिइएसम्म आफूले अनशन नतोड्ने उनले बताएका छन् ।
उनको अनिश्चितकालीन आमरण अनशन २३औँ दिनमा पुगेको छ । वाङचुकले शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका युवाहरूमाथि भएको ‘बर्बरता’ देखेपछि आफूले अनशन जारी राख्ने निर्णय गरेको बताएका छन् ।
‘ककरोच जनता पार्टी’ले सोमबारको ‘संसद् चलो’ मार्चका क्रममा दिल्ली प्रहरीले अत्यधिक बल प्रयोग गरेको आरोप लगाएको छ । दमनका क्रममा आफ्ना स्वयंसेवकहरूलाई कुटपिट गरिएको, सडकमा घिसारिएको तथा गम्भीर घाइते बनाइएको दाबी गरेको छ । पार्टीका प्रवक्ता आशुतोष रांकाले सोनाम वाङचुककी पत्नी गीताञ्जली अङ्मोलाई ट्रकमा चढाउने क्रममा कपाल समातेर घिसारिएको र धेरै स्वयंसेवक गम्भीर घाइते भएको दाबी गरेका छन् ।
अस्पताल स्रोतका अनुसार, सोमबार भएको झडपपछि प्रदर्शनकारी र प्रहरी कर्मचारी गरी १७० भन्दा बढी घाइतेलाई केन्द्रीय सरकारी अस्पतालहरूमा उपचारका लागि लगिएको थियो । करिब १५० घाइतेलाई राम मनोहर लोहिया अस्पतालमा लगिएको थियो भने दुई दर्जनभन्दा बढीलाई लेडी हार्डिङ मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
सफदरजङ अस्पतालमा उपचाररत २० वर्षीया एक युवतीको हाइपोक्सिक ब्रेन इन्जुरी देखिएको छ । उनको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ । अन्य अधिकांश घाइतेको शरीरमा निलडाम परेको, टाउको तथा अनुहारमा चोट लागेको थियो ।
यसैबीच, संसद् मार्चका क्रममा भएको हिंसा तथा सवारीसाधन तोडफोड आरोपमा दिल्ली प्रहरीले कनट प्लेस प्रहरी कार्यालयमा केही व्यक्तिहरूविरुद्ध एफआईआर दर्ता गरेको टाइम्स अफ इन्डियाले जनाएको छ ।
भारतीय नागरिक सुरक्षा संहिता (बीएनएसएस) को धारा १६३ अन्तर्गत जारी निषेधाज्ञाका बाबजुद प्रदर्शनकारीहरूले ब्यारिकेड तोडेर संसद्तर्फ अघि बढ्ने प्रयास गरेका थिए । सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच पटक–पटक झडप भएको थियो । झडपका क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास समेत प्रहार गरेको थियो ।
यसैबीच, भारतको विपक्षी दल कांग्रेसका अध्यक्ष तथा राज्यसभामा विपक्षी दलका नेता मल्लिकार्जुन खड्गेले ‘ककरोच जनता पार्टी’को प्रदर्शनमाथि भएको प्रहरी कारबाहीको कडा आलोचना गरेका छन् । विपक्षीलाई यो मुद्दामा संसद्मा बोल्ने अवसर नदिइएको आरोप लगाएका छन् ।
प्रश्नपत्र चुहावट प्रकरणविरुद्ध प्रदर्शन गरिरहेका विद्यार्थीहरूमाथि लाठीचार्ज गरिएको, अश्रुग्यास प्रहार गरिएको र धेरै विद्यार्थी घाइते भई अस्पताल पुग्नुपरेको विषय राज्यसभामा उठाउने प्रयास गर्दा आफ्नो माइक्रोफोन बन्द गरिएको दाबी उनले गरेका छन् ।






