काठमाडौं, ३१ असार २०८३ । इरानले अमेरिकाले आफ्ना सैन्य आक्रमण नरोकेसम्म होर्मुज जलमार्ग हुँदै हुने जहाज आवागमन खुला नगर्ने चेतावनी दिएको छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले बुधबार जारी गरेको विज्ञप्तिमा अमेरिकाको आक्रमणक गतिविधि बन्द नगरेसम्म जलमार्गमा जहाज सञ्चालन अवरुद्ध रहने जनाएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित जहाजहरूविरुद्ध पुनः नाकाबन्दी लागु गर्ने घोषणा गरेपछि इरानले यस्तो प्रतिक्रिया दिएको हो ।
आईआरजीसीले विज्ञप्तिमा भनेको छ, “यस क्षेत्रबाट हुने तेल र ग्यासको निर्यात या त सबैका लागि हुनेछ अथवा कसैका लागि पनि हुने छैन ।”
यसैबीच, इरानले हालै स्थापना गरेको ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ले क्षेत्रीय अवस्था सामान्य भई स्थायित्व र शान्ति कायम भएपछि मात्र जहाज आवागमनका लागि आवश्यक अनुमति जारी गरिने जनाएको छ ।
उता, अमेरिकाले भने होर्मुज जलमार्गको अन्तर्राष्ट्रिय जलमार्ग खुला रहेको दाबी गरेको छ । यद्यपि, जुन महिनाको युद्ध उत्कर्षमा पुगेयता पछिल्ला दिनहरूमा यस मार्गबाट हुने जहाज आवागमन उल्लेखनीय रूपमा घटेको छ ।
अमेरिकी सेन्ट्रल कमान्डले होर्मुज जलमार्ग आसपास तथा इरानको दक्षिणी तटीय क्षेत्रमा रहेका दर्जनौँ इरानी सैन्य लक्ष्यहरूमा आक्रमण गरिएको जनाएको छ । ती आक्रमणहरूको उद्देश्य व्यापारिक जहाज तथा नागरिक चालक दललाई लक्षित गर्न सक्ने इरानको सैन्य क्षमतालाई थप कमजोर बनाउनु रहेको सेन्ट्रल कमान्डले जनाएको छ । डीडब्ल्यू






