काठमाडौं, ३० असार २०८३ । संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानी क्रुज मिसाइल आक्रमणमा आफ्ना दुई तेल ट्यांकर निसानामा परेको जनाएको छ । एक भारतीय चालक दलका सदस्यको मृत्यु र अरू धेरैजना घाइते भएका यूएईले जनाएको छ ।
इरानले पनि होर्मुज जलमार्गको मध्यक्षेत्रमा नियम उल्लंघन गरेका तेलका दुई ‘सुपरट्यांकर’माथि कारबाही गरिएको जनाएको छ ।
यूएईको रक्षा मन्त्रालयका अनुसार, ‘मोम्बासा’ र ‘बाहिया’ नाम दुई ट्यांकरमाथि इरानले दुइटा क्रुज मिसाइल प्रहार गरेको थियो । आक्रमणपछि दुवै जहाजमा आगलागी भएको थियो ।
यूएईका अनुसार, मोम्बासा ट्यांकरमा कार्यरत एक भारतीय चालक दलका सदस्यको मृत्यु भएको छ । आठजना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा चार भारतीय र दुई युक्रेनी नागरिक रहेका मन्त्रालयले जनाएको छ ।
यूएईले उक्त आक्रमणलाई लाजमर्दो तथा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भन्दै कडा निन्दा गरेको छ । रक्षा मन्त्रालयले यूएईलाई आफ्ना नागरिक, जहाज तथा सम्पत्तिको रक्षा गर्ने पूर्ण अधिकार रहेको उल्लेख गर्दै आवश्यक सुरक्षा तथा प्रतिकारात्मक कदम चालिने जनाएको छ ।






