काठमाडौं, २३ असार २०८३ । भारतको महाराष्ट्र राज्यमा अविरल वर्षाले जनजीवन प्रभावित बनेको छ। मुम्बईमा मंगलबार बिहानदेखि बाक्लो बादल, तीव्र हावा र भारी वर्षा भएपछि मौसम विभागले सुन्तला (ओरेन्ज) चेतावनी जारी गरेको छ।
खराब मौसमको जोखिमलाई ध्यानमा राख्दै मुम्बईका सबै सरकारी,निजी तथा महानगरपालिकाअन्तर्गत सञ्चालित विद्यालय र कलेजहरूमा मंगलबार बिदा घोषणा गरिएको छ।
सोमबारदेखि लगातार परेको वर्षाका कारण मुम्बई तथा आसपासका जिल्लाहरूको जनजीवन लगभग ठप्प भएको छ। धेरै सडक जलमग्न भएका छन् भने रूख ढल्ने, पर्खाल तथा होर्डिङ भत्किने घटनासमेत भएका छन्। दादरस्थित शिवाजी पार्क नजिक एउटा कारमाथि रूख ढलेको बताइएको छ।
मौसम विभागका अनुसार सुन्तला चेतावनीको अर्थ अत्यधिक खराब मौसमको सम्भावना रहेकाले सर्वसाधारणले उच्च सतर्कता अपनाउनुपर्ने हुन्छ। यस्तो अवस्थामा यातायात सेवा प्रभावित हुने, विद्युत् आपूर्ति अवरुद्ध हुने तथा दैनिक जनजीवनमा व्यापक असर पर्न सक्ने जनाइएको छ। चार तहको चेतावनी प्रणालीमा सुन्तला चेतावनी तेस्रो स्तरमा पर्छ, जुन पहेँलो चेतावनीभन्दा माथि र रातो चेतावनीभन्दा तलको अवस्था हो।
यसैबीच,समाचार एजेन्सी पीटीआईका अनुसार पहिरोका कारण करिब १८ घण्टादेखि बन्द रहेको मुम्बई–पुणे एक्सप्रेसवेको मुम्बईतर्फ जाने बाइपास सडक सोमबार राति पुनः सञ्चालनमा ल्याइएको छ।
यता,पुणे जिल्लामा भारी वर्षासँग सम्बन्धित छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ। पहिरो र पर्खाल भत्किँदा एकै परिवारका तीन सदस्यको ज्यान गएको छ भने दुई जना तीव्र भेलमा बगेका छन्। उद्धार तथा राहत कार्य जारी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।






