काठमाडौं, १६ असार २०८३ । अमेरिकाबाट ‘डिपोर्ट’ गरेर भेनेजुएला फर्काइएका १४६ नागरिक बसेको एउटा होटेल विनाशकारी भूकम्पमा भत्किएको छ । होटेल भत्किएपछि धेरैजना भग्नावशेषमा बेपत्ता रहेको सीएनएनले जनाएको छ । उनीहरूका परिवारले खोजी गरिरहेका छन् ।
मानवअधिकार संस्था ह्युमन राइट्स फर्स्टको आईसीई फ्लाइट मोनिटर तथा भेनेजुएली अधिकारीहरूका अनुसार, १९ महिला र सात बालबालिकासहित १४६ जनालाई डिपोर्ट गरिएको थियो । मियामीबाट भेनेजुएली नागरिक बोकेको डिपोर्टेसन उडान बुधबार बिहान स्थानीय समयअनुसार १०ः२२ बजे सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
विमानस्थलबाट उनीहरूलाई राजधानी काराकासको उत्तरमा रहेको तटीय सहर ला गुआइराको होटेल सान्तोआरियोमा राखिएको थियो । तर, उनीहरू होटेल पुगेको केही घण्टामै गएको शक्तिशाली भूकम्पले भवन पूर्ण रूपमा भत्किएको थियो । सरकारी तथ्यांकअनुसार भूकम्पमा हालसम्म एक हजार ७०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
आफन्तको गुनासो: कुनै जानकारी दिइएन
होटेल भत्किँदा केही डिपोर्ट गरिएका नागरिकहरूको उद्धार गरिएको थियो । धेरैजना अझै बेपत्ता रहेको जनाइएको छ । आफ्नी बहिनी अमान्डा डानिजेतेको खोजी गरिरहेका लुइस अर्मान्डो डासिल्भाले सीएनएनसँग भने, “स्थानीय अधिकारीहरूले उनी कहाँ छिन् भन्ने कुनै जानकारी दिएका छैनन् । अस्पताल, शवगृह र अन्य सबै ठाउँमा खोज्यौँ, तर कतै भेटिएन ।”
उनका अनुसार, उनकी बहिनी अमेरिकाको जर्जिया राज्यमा काम गर्दै आएकी थिइन् । डिपोर्ट भएर स्वदेश फर्किएपछि परिवारसँग पुनर्मिलन हुने आशाले उनी निकै उत्साहित थिइन् । तर, घर फर्किएको केही घण्टामै यस्तो विपत्ति आइपरेको उनले बताए ।
भूकम्प गएको धेरै दिन बितिसकेकाले भग्नावशेषभित्र जीवित भेटिने सम्भावना क्रमशः घट्दै गएको छ । बेपत्ता व्यक्तिका आफन्तहरू कम्तीमा आफ्ना प्रियजनको शव फेला पारेर सम्मानपूर्वक अन्त्येष्टि गर्न पाउने आशामा छन् ।
डिपोर्ट गरिएका एक युवाका हजुरबुबा जोसे ग्रेगोरियो रिन्कोन एभिलाले भावुक हुँदै भने, “कृपया हामीलाई सहयोग गर्नुहोस् । बुधबारदेखि हाम्रा आफन्त त्यही भग्नावशेषभित्र छन् भन्ने हामीलाई थाहा छ । कम्तीमा उनीहरूको शव भए पनि घर लैजान दिनुहोस् ।”
लुइस अर्मान्डो डासिल्भाले भने, “हामी आफ्ना परिवारका सदस्यहरू जुनसुकै अवस्थामा भए पनि भेट्न चाहन्छौँ, ताकि सम्मानका साथ अन्तिम संस्कार गर्न सकियोस् ।”
यसैबीच, अमेरिकाले भूकम्प प्रभावित क्षेत्रमा विशेष खोज तथा उद्धार टोली परिचालन गरेको छ । साथै, राहत तथा उद्धार कार्यका लागि ३० करोड अमेरिकी डलरभन्दा बढी आर्थिक सहयोग घोषणा गरेको जनाएको छ ।
उद्धारकर्मीहरूले होटेलको भग्नावशेष हटाउने, बेपत्ता व्यक्तिको खोजी गर्ने तथा सम्भावित जीवित व्यक्तिको उद्धार गर्ने अभियानलाई निरन्तरता दिएका छन् ।






