Online Bichar
सोमबार, आषाढ १५, २०८३ | Monday, June 29, 2026

झापा, १५ असार २०८३ । झापा बिर्तामोडको कन्काई हस्पिटलले ओपीडी सेवा निःशुल्क गरेको छ । कन्काई हस्पिटल प्रा. लि. २१औं वर्षमा प्रवेश गरेको अवसरमा आजको मितिदेखि एक सातासम्म सम्पूर्ण ओपीडी सेवा पूर्ण रूपमा निःशुल्क गरिएको हो । कन्काईमा फिजिसियन , बालरोग, महिला तथा प्रसूति , हाडजोर्नी, मानसिक तथा नशारोग , सर्जरी , मुटुरोग , नाक कान घाँटीलगायतका विशेषज्ञ चिकित्सकहरुको सेवा उपलव्ध रहेको छ ।

साथै, अन्य सम्पूर्ण उपचार तथा परीक्षण सेवाहरूमा १० प्रतिशत विशेष छुटको व्यवस्था गरिएको आज बिहान आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष युवराज डाँगीले बताए ।

उनले अस्पतालको सेवालाई अझ उत्कृष्ट बनाउन आगामी दिनमा छिट्टै सिटी स्क्यान मेसिन खरिद गर्ने प्रक्रिया अगाडि बढाइएको र यसलाई छिट्टै सञ्चालनम ल्याउने जानकारी दिए । त्यस्तै बिरामीहरूको सहजतालाई ध्यानमा राख्दै अस्पतालको ४ तले भवनमा आधुनिक लिफ्ट जडान गरी छिट्टै सञ्चालनमा ल्याउनेसमेत उनले जानकारी दिए ।

भविष्यमा बिर्तामोड–६, बुट्टावारीमा रहेको अस्पतालकै स्वामित्वको आफ्नै जग्गामा २ सय शय्याको अत्याधुनिक भवन निर्माण गरी अस्पताल संचालनमा ल्याउने सोचका साथ तयारी अगाडि बढाइएको अध्यक्ष डाँगीले बताए । अस्पताल निर्माणका लागि त्यहाँ एक विगाह १० कठ्ठा जग्गा खरिद गरिएको छ ।

कन्काई बिर्तामोडको दोस्रो अस्पताल हो । २० वर्ष पूरा गरेर २१ वर्षमा प्रवेश गर्दा कन्काईमा कुल ओपीडी ३ करोड ६५ लाखभन्दा बढी,ल्याब परीक्षण ३ करोड ४७ लाखभन्दा बढी,आकस्मिक कक्ष सेवा २ लाख ५८ हजार ५५५,फिजियोथेरापी ३ लाख ३ हजार २४६, मेजर अपरेशन ५९ हजार १९९,माइनर अपरेशन ५५ हजार।७६७,भर्ना भएका बिरामी ४२ हजार ९९७ ,प्रसूति सेवा १४हजार ८९८ जनाले लिएको तथ्यांक रहेको छ ।

 

तपाईको प्रतिक्रिया