झापा, १४ असार २०८३ । वर्षासंगै परेको चट्याङ लागेर इलाममा एकजनाको ज्यान गएको छ । गएराति १ बजेतिर पानीसंगै परेको चट्याङका कारण इलाम रोङ गाउँपालिका ६ सलकपुर बस्ने ८८ वर्षीय कालुविर मोक्तानको मृत्यु भएको हो । काठको टाँटी बेरा र टिनको छानो भएको दुईतले घरको बरण्डामा चट्याङले हान्दा टाउको र पेटमा जलेर मोक्तान उत्तानो परी मृत अवस्था फेला परेका थिए ।
चट्याङले बिद्युतीय मिटर बक्ससमेत जलेको छ । आज बिहान ८ः३० बजे मोक्तानका नाति लेखराज मोक्तानले देखेर बिहान ९ः३० बजे प्रहरी चौकी जिर्मलेमा जानकारी गराएका थिए । जिर्मलेको प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको छ ।
थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक प्रविण जोशीको कमाण्डमा टोली गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।






