काठमाडौं, १४ असार २०८३ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको वामपन्थी आन्दोलनलाई मात्रै नभई लोकतन्त्रलाई नै लक्षित गरेर सिध्याउने गरी भदौ २३ र २४ मा षडयन्त्र भएको दाबी गरेका छन् । मदन भण्डारी फाउन्डेसनले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो दाबी गरेका हुन् । उनले वैधानिक सरकारलाई अवैध ढंगले विस्थापन गरिएको दाबी गरे ।
“अहिले नेपालको वामपन्थी आन्दोलनलाई मात्रै होइन लोकतन्त्रलाई टार्गेट गरेर त्यसलाई नै सिध्याउने गरी भदौ २३ र २४ को प्रतिगामी षडयन्त्र भयो,” कार्यक्रममा ओलीले भने, “त्यो षडयन्त्रले वैधानिक सरकारलाई अवैध ढंगले विस्थापन गर्यो । यो लोकतन्त्र हुनै सक्दैन । लोकतान्त्रिक आन्दोलन हुनै सक्दैन ।”
लोकतान्त्रिक सरकारलाई बलजफती विस्थापित गरिएको भनाइ ओलीको थियो । सरकार बनाउने, अपदस्थ गर्ने, फेर्ने सबै काम संसद्बाट हुनुपर्ने बताउँदै ओलीले भने, “तर बलजफती भंग गरियो । वैधानिक सरकार ढालेर अवैधानिक सरकार गठन गर्न पाइँदैन ।”






