काठमाडौं, १२ असार २०८३ । भेनेजुएलामा दुई शक्तिशाली भूकम्पबाट जनधनको ठूलो क्षति भएको छ । स्थानीय समयानुसार बुधबार बेलुका मापन गरिएका ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्पमा परी हालसम्म २३५ जनाको मृत्यु पुष्टि भएको सीबीएस न्युजले जनाएको छ ।
सीएनएनका अनुसार, चार हजार ३०० भन्दा बढी मानिस घाइते भएका छन् । २०० भन्दा धेरै मानिस अझै भग्नावशेषमा फसेका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै, ३९ हजारभन्दा बढी मानिस बेपत्ता भएका आशंका गरिएको छ ।
यसलाई विगत १२६ वर्षयता भेनेजुएलामा आएको सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक मानिएको छ । यसको धक्का ब्राजिलको अमेजन क्षेत्रसम्म महसुस गरिएको थियो ।
स्थानीयवासी आफ्ना बेपत्ता आफन्तको खोजीमा आफैँ भग्नावशेष पन्छाइरहेका छन् । उद्धार टोली पनि निरन्तर खोजीमा सक्रिय छ । घाइतेहरूलाई भग्नावशेषबाट बाहिर निकाल्ने क्रम जारी छ ।
त्यहाँको सरकारी टेलिभिजनले सिमेन्टको ठूलो स्ल्याबमुनि फसेकी एक महिलाको जीवितै उद्धार गरिएको दृश्य पनि प्रसारण गरेको छ । राजधानी काराकासबाहिरका धेरै प्रभावित क्षेत्रमा भने सरकारी उद्धार टोलीको उपस्थिति अझै सीमित देखिएको छ ।
सबैभन्दा बढी क्षति ला गुएरा तटीय क्षेत्रमा भएको छ । त्यहाँ दर्जनौँ भवन भएको देखिएको छ । देशको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल पनि सोही क्षेत्रमा छ । त्यसमा पनि क्षति पुगेको छ । हाल सबै उडान स्थगन गरिएको छ । विमानस्थल बन्द हुँदा राहत सामग्री ढुवानीमा समेत कठिनाइ भएको छ ।
कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले ला गुएरालाई विपद्ग्रस्त क्षेत्र घोषणा गरेकी छन् । उनले देशभरिका उद्धार टोलीलाई तत्काल प्रभावित क्षेत्रमा परिचालन गर्न निर्देशन दिएकी छन् ।
भूकम्पपछि धेरै क्षेत्रमा विद्युत्, मोबाइल नेटवर्क, मेट्रो सेवा र ग्यास आपूर्ति अवरुद्ध भएको छ । विद्यालयमा बिदा घोषणा गरी तिनलाई अस्थायी राहत शिविर तथा सहायता केन्द्रका रूपमा प्रयोग गर्न थालिएको छ ।
अमेरिका, मेक्सिको, ब्राजिल, क्यानडा, स्पेन, पोर्चुगल, कतारलगायत धेरै देशले उद्धार टोली, मेडिकल टिम, राहत सामग्री, स्निफर डग, ड्रोन तथा पानी शुद्धीकरण गर्ने उपकरण पठाउने घोषणा गरेका छन् ।
यसैबीच, अमेरिकाले राहत तथा उद्धार कार्यलाई सहज बनाउन भेनेजुएलामाथि लगाइएका केही आर्थिक प्रतिबन्ध आउँदो अक्टोबर २३ सम्मका निम्ति अस्थायी रूपमा फुकुवा गरेको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आफ्नो देशले द्रुत गतिमा राहत सामग्री पठाउने बताएका छन् । यद्यपि, मुख्य अन्तर्राष्ट्रिय विमानस्थल बन्द रहेकाले राहत सामग्री ढुवानी र उद्धार कार्यमा व्यवधान उत्पन्न भएको छ ।






