काठमाडौं, ९ असार २०८३ । कतारको रस लाफान औद्योगिक सहरमा रहेको ग्यास प्रशोधन प्लान्टमा भएको विस्फोटमा नेपाली घाइते भएका छन् ।
१३ जनाको मृत्यु भएको विस्फोटको घटनामा नेपाली पनि घाइते भएका हुन् । मृत्यु हुने १३ जनामा १२ भारतीय नागरिक रहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।
स्थानीय सञ्चारमाध्यमले घाइते हुनेहरूमा नेपालसहित भारत, कतार, तान्जानिया, पाकिस्तान, गिनी, बंगलादेश, केन्या र नाइजेरियालगायत धेरै देशका नागरिक रहेको बताएका छन् ।
घाइते भएका ६६ जनाको उपचार भइरहेको छ । घाइतेहरू कसैको पनि ज्यान जोखिममा नरहेको समाचारमा उल्लेख छ ।
कतारको सरकारी स्वामित्वमा रहेको ऊर्जा कम्पनी, कतार इनर्जीले सञ्चालन सुरु गर्ने क्रममा विस्फोट भएको बताएको छ, जसको परिणामस्वरूप बरजान ग्यास आपूर्ति सुविधामा विस्फोट र आगलागी भएको छ ।






