काठमाडौं, ८ असार २०८३ । कतारको प्रमुख ग्यास निर्यात टर्मिनलमध्ये एकमा आइतबार राति भीषण विस्फोट भएको छ । घटनामा परी ५४ जना घाइते भएका छन् । १८ जना अझै बेपत्ता रहेको समाचार एजेन्सी ‘एपी’ले जनाएको छ ।
कर्मचारीहरू प्लान्टको सञ्चालन पुनः सुरु गर्ने प्रयास गरिरहेका बेला रास लफ्फान औद्योगिक क्षेत्रमा विस्फोट भएको हो ।
युद्धका क्रममा इरानले गरेको आक्रमणका कारण कतारको यस औद्योगिक क्षेत्रमा ठूलो क्षति पुगेको थियो, जसले यहाँको उत्पादन र सञ्चालन प्रभावित भएको थियो ।
यसका साथै, होर्मोज जलडमरूमध्ये बन्द भएका कारण कतारको ग्यास निर्यात पूर्ण रूपमा ठप्प भएको थियो । उसले केही समयका लागि ग्यास उत्पादन समेत रोक्नुपरेको बताइएको छ । अहिले अमेरिका र इरानबीच प्रारम्भिक शान्ति सम्झौता भएपछि कतारले उक्त टर्मिनल पुनः सञ्चालनमा ल्याउने तयारी गरिरहेको थियो ।
कतार विश्वकै प्रमुख प्राकृतिक ग्यास उत्पादक तथा निर्यातकर्ता राष्ट्रमध्ये एक भएकाले यस विस्फोटले विश्वव्यापी ऊर्जा बजारमा नयाँ चिन्ता थप्न सक्ने विश्लेषण गरिएको छ ।
प्राकृतिक ग्यासबाट प्राप्त आम्दानीले कतारको आर्थिक समृद्धिमा निर्णायक भूमिका खेलेको छ । यही ऊर्जा सम्पत्तिको बलमा कतारले सन् २०२२ को फिफा विश्वकप आयोजना गरेको थियो भने ‘अलजजिरा’ समाचार सञ्जालमार्फत विश्व सञ्चार क्षेत्रमा पनि आफ्नो प्रभाव विस्तार गरेको छ । साथै, यसले कतारलाई अन्तर्राष्ट्रिय कूटनीतिमा प्रभावशाली मध्यस्थकर्ताको रूपमा स्थापित गर्न पनि सहयोग पुगेको मानिन्छ ।
हाल स्वीट्जरल्यान्डमा अमेरिका र इरानबीच जारी वार्तामा पनि कतारले महत्त्वपूर्ण मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ ।






