Online Bichar
मंगलबार, आषाढ ०९, २०८३ | Tuesday, June 23, 2026

काठमाडौं, ८ असार २०८३ । युरोपका विभिन्न देशमा अत्यधिक गर्मी ९हिटवेभ०का कारण जनजीवन प्रभावित भएको छ । फ्रान्समा सप्ताहान्तका क्रममा अत्यधिक गर्मीका कारण तीन ज्ययेष्ठ नागरिकको मृत्यु भएपछि सरकारले आपत्कालीन कदम चाल्न थालेको छ ।

फ्रान्सका ९६ मुख्य प्रशासनिक विभागमध्ये ४९ वटामा ‘रेड अलर्ट’ जारी गरिएको छ । यसको प्रभावस्वरूप प्रशासनले सोमबार ८४५ विद्यालय पूर्ण रूपमा बन्द र थप एक हजार ८०० स्कुलमा नियमित समयभन्दा अगावै बिदा दिने घोषणा गरेको छ ।

मौसमविद्का अनुसार, फ्रान्सका केही क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । जुन महिनाका निम्ति यो असाधारण रूपमा उच्च मानिन्छ ।

यो हिटवेभ सन् २००३ को अगस्टमा देखिएको विनाशकारी गर्मीजस्तै गम्भीर हुन सक्ने चेतावनी दिइएको छ । त्यस बेला फ्रान्समा मात्र करिब १५ हजार मानिसको मृत्यु भएको थियो ।

अत्यधिक गर्मीका कारण फ्रान्स र बेल्जियम दुवैले आफ्ना रेल सेवामा कटौती गरेका छन् । फ्रान्समा विशेष गरी पेरिस तथा आसपासका क्षेत्रका रेलमार्गमा प्रभाव परेको छ । बेल्जियमको राष्ट्रिय रेल कम्पनी एसएनसीबीले दुई दिनका निम्ति व्यस्त समयका केही रेल सेवा रद्द गरेको छ ।

आउँदा दिनमा बेल्जियममा इतिहासकै उच्च तापक्रम रेकर्ड हुन सक्ने सम्भावना रहेको त्यहाँको मौसम पूर्वानुमान संस्था आईआरएमले जनाएको छ ।

बेलायतको रोयल मेटियोरोलोजिकल सोसाइटीका अनुसार, जुन महिनामै तापक्रम ३८ देखि ३९ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ । र, अघिल्ला तापक्रमका रेकर्डहरू तोडिन सक्छ ।

स्पेनको मौसम विभाग ऐमेटले पनि बुधबारसम्म दिन र रात दुवै समयमा अत्यधिक गर्मी रहने चेतावनी दिएको छ । स्पेनका केही क्षेत्रमा तापक्रम ४४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

वैज्ञानिकका अनुसार, यसप्रकारको कीर्तिमानी गर्मीको मुख्य कारण मानवीय गतिविधिले भइरहेको जलवायु परिवर्तन हो । त्यसले पृथ्वीको वायुमण्डलमा थप ताप सञ्चित गराउँदै अत्यधिक गर्मीको जोखिम बढाएको छ ।

म्याड्रिडमा गर्ने भनिएको स्पेन र साउदी अरेबियाबीचको फुटबल खेलको सार्वजनिक प्रत्यक्ष प्रसारण समेत अत्यधिक गर्मीकै कारण रद्द गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया