झापा, ५ असार २०८३। झापाको बिर्तामोडमा घरायसी विवादका क्रममा श्रीमतीलाई फलामको रडले घोचेर घाइते बनाएपछि श्रीमानले घरको तेस्रो तलाबाट हाम्फाल्दा मृत्यु भएको छ।
शुक्रबार(आज) बिहान ५:३० बजे बिर्तामोड नगरपालिका–५ अन्नपूर्ण चोक बस्ने ७२ वर्षीय घिरेन राजवंशीले घरायसी विवादका क्रममा आफ्नी ६५ वर्षीया श्रीमती गंगामुनी राजवंशीको पेटमा फलामको रडले घोचेर घाइते बनाएका थिए। घाइते गंगामुनीलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको थियो।
श्रीमतीलाई घाइते बनाएपछि घिरेन राजवंशी घरको तेस्रो तलामा गई हाम्फालेका थिए। हाम्फाल्दा उनको टाउको, हातखुट्टालगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। उनलाई पनि उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो।
उपचारकै क्रममा आज बिहान ६ः४५ बजे घिरेन राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते गंगामुनी राजवंशीको अस्पतालमा उपचार भइरहेको छ। उनको पेटमा चोट लागेको भए पनि बोल्न सक्ने मध्यम अवस्था रहेको जनाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।






