काठमाडौं, २ असार २०८३ । ‘ककरोच जनता पार्टी’ (सीजेपी) का संस्थापक अभिजीत दीपके सडकमै कुटिएका छन् । भारतको राजस्थान राज्यको राजधानी जयपुरमा एक विरोध प्रदर्शनका क्रममा दीपकेमाथि एक व्यक्तिले थप्पड प्रहार गरेका छन् ।
जयपुरस्थित ‘सहिद स्मारक’मा सोमबार दिउँसो ३ बजे आयोजना गरिएको शान्तिपूर्ण सभामा दीपके मञ्चतर्फ जाँदै गर्दा त्यहाँको अवस्था तनावपूर्ण बनेको थियो ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा समर्थकहरूले दीपकेलाई काँधमा बोकेर लैजाँदै गर्दा भीडमा रहेका केही व्यक्तिहरूले उनको स्कार्फ तानेको देखिन्छ । त्यसपछि उनीहरूले दीपकेमाथि कयौँ थप्पड प्रहार गरेका र उनलाई तल खसाल्ने प्रयास गरेको भिडियोमा देखिन्छ । घटनापछि कार्यक्रमस्थलमा ठूलो हंगामा र भागदौड मच्चिएको थियो ।
भारतको नेशनल इलिजिबिलिटी कम इन्ट्रान्स टेस्ट ९नीट० को प्रश्नपत्र बाहिरिएको प्रकरण तथा शिक्षा प्रणालीका कमजोरीहरूको विरोधमा सीजेपीले देशव्यापी प्रदर्शन गरिरहेको छ । केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै दिल्ली र पुणेपछि जयपुरमा पनि उक्त प्रदर्शन आयोजना गरिएको थियो ।
स्थानीय सञ्चारमाध्यमका रिपोर्टअनुसार घटनालगत्तै प्रहरीले सक्रियता देखाउँदै कुटपिटमा संलग्न युवकलाई नियन्त्रणमा लिएको छ ।






