Online Bichar
मंगलबार, जेठ २६, २०८३ | Tuesday, June 9, 2026

काठमाडौं, २५ जेठ २०८३ । इरानले इजरायलमाथि गरेको मिसाइल आक्रमण र त्यसपछि इजरायली वायुसेनाले गरेको जवाफी सैन्य कारबाहीका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा ठूलो उछाल आएको छ ।

सोमबार एसियाली बजार खुलेसँगै ऊर्जा क्षेत्रमा देखिएको यो तीव्र उतारचढावले विश्व अर्थतन्त्रमै नयाँ चिन्ता थपेको छ ।

गत अप्रिलमा इरान, इजरायल र अमेरिकाबीच भएको एउटा संवेदनशील युद्धविराम सम्झौतापछि इरानले इजरायली भूभागमा सिधा मिसाइल प्रहार गरेको यो पहिलो पटक हो, जसका कारण मध्यपूर्वमा आपूर्ति अवरुद्ध हुने डरले बजारमा ‘प्यानिक बाइङ’ देखिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय मानक मानिने ब्रेन्ट क्रुडको मूल्य ४.६२ प्रतिशत बढेर प्रतिब्यारेल ९७.३९ अमेरिकी डलर पुगेको छ ।

त्यसैगरी अमेरिकी कच्चा तेल डब्लूटीआईको मूल्यमा पनि ४.३५ प्रतिशतको वृद्धि हुँदै प्रतिब्यारेल ९४.४८ डलर कायम भएको छ ।

कच्चा तेलसँगै अन्य पेट्रोलियम पदार्थको मूल्यमा पनि उल्लेख्य बढोत्तरी देखिएको छ, जसमा पेट्रोलको मूल्य ३.३६ प्रतिशत बढेर ३.१४ डलर पुगेको छ भने हिटिङ आयलको मूल्यमा ४.१२ प्रतिशत वृद्धि भई ३.७३ डलर पुगेको छ ।

यद्यपि, इन्धनका अन्य स्रोत महँगिदा प्राकृतिक ग्यासको मूल्यमा भने १.५९ प्रतिशतको सामान्य गिरावट आएको छ ।

पछिल्लो एक सातादेखि प्रतिब्यारेल ९५ डलर हाराहारीमा स्थिर रहेको तेलको मूल्यले यो नयाँ सैन्य तनावसँगै ९७ डलरको सीमा पार गरेको हो । मध्यपूर्वको यो द्वन्द्व थप लम्बिए कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय डलरभन्दा माथि पुग्न सक्ने प्रक्षेपण विश्लेषकहरूले गरेका छन् ।

तेलको मूल्यमा आएको यो आकस्मिक वृद्धिको प्रत्यक्ष असर नेपालजस्ता आयातमा निर्भर देशहरूको अर्थतन्त्रमा पर्ने र यसले आगामी दिनमा उपभोक्ता मूल्य तथा महँगी अझ बढाउन सक्ने देखिएको छ ।

 

तपाईको प्रतिक्रिया