Online Bichar
सोमबार, जेठ २५, २०८३ | Monday, June 8, 2026

काठमाडौं, २४ जेठ २०८३ । दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा भएको इजरायली आक्रमणमा लेबनानी सेनाका एक ब्रिगेडियर जनरलसहित कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

यो घटना अमेरिकाको मध्यस्थतामा भएको वार्तापछि दुवै पक्ष सर्तसहितको युद्धविराममा सहमत भएको केही दिनमै भएको हो ।

लेबनानी सेनाका अनुसार खर्दाली–नबातियेह सडकमा एक सैन्य सवारीसाधनमाथि भएको इसरायली आक्रमणमा एक ब्रिगेडियर जनरल, एक क्याप्टेन र एक सैनिकको मृत्यु भएको हो ।

इजरायली सेनाले शनिबार भएको उक्त आक्रमण सक्रिय सैन्य कारबाही भइरहेको क्षेत्रमा भएको जनाएको छ । उसले युद्धक्षेत्रभित्र हुने आवतजावतका लागि इजरायली सेनासँग समन्वय आवश्यक पर्ने बताउँदै घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

लेबनानी सेनाले इजरायली आक्रामण समाधान खोज्न भइरहेका सबै प्रयासलाई असफल बनाउने उद्देश्यबाट प्रेरित भएको जनाएको छ ।

लेबनानका राष्ट्रपति जोसेफ आउनले उक्त आक्रमणको कडा निन्दा गर्दै यसलाई लेबनानी सार्वभौमसत्ता तथा अन्तर्राष्ट्रिय कानुन र मान्यताहरूको गम्भीर उल्लंघन बताएका छन् ।

लेबनानका प्रधानमन्त्री नवाफ सलामले यस घटनालाई जघन्य अपराध तथा लेबनान र सम्पूर्ण लेबनानी जनतामाथिको आक्रमणका रूपमा चित्रण गरेका छन् ।

तपाईको प्रतिक्रिया