Online Bichar
शनिबार, जेठ २३, २०८३ | Saturday, June 6, 2026

काठमाडौं, २२ जेठ २०८३ । ओमानको प्रमुख तेल निर्यात केन्द्र मीना अल फाहल टर्मिनलनजिक विस्फोट भएको छ । इरान युद्धसँग सम्बन्धित पछिल्लो विस्फोटपछि कच्चा तेल लोडिङ अस्थायी रूपमा रोकिएको इरानको मेहर समाचार एजेन्सीले जनाएको छ ।

एजेन्सीका अनुसार ‘सिंगल बुओय मुरिङ’ प्रणालीनजिक भएको विस्फोटपछि तेल लोडिङ कार्य रोकिएको हो । विस्फोट एसबीएम–१ र एसबीएम–२ को बीचमा भएको बताइएको छ ।

तर, ओमान न्युज एजेन्सीले शुक्रबार ‘पेट्रोलियम डेभलपमेन्ट ओमान’को विज्ञप्ति उद्धृत गर्दै बन्दरगाहमा कामकाज अस्थायी रूपमा निलम्बन गरिए पनि सञ्चालन पुनः सुचारु भइसकेको र अवस्था सामान्य बन्दै गएको जानकारी दिएको छ ।

घटनाबारे जानकारी राख्ने दुई स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले ड्रोन आक्रमण नै विस्फोटको सम्भावित कारण भएको जनाएको छ ।

घटनाबाट भएको क्षतिको वास्तविक अवस्था तथा लोडिङ निलम्बन कति समयसम्म रह्यो भन्नेबारे विस्तृत विवरण सार्वजनिक भएको छैन ।

यो विस्फोट इरानले केही दिनअघि ओमानको खाडीमा इरानी जलक्षेत्रतर्फ अघि बढिरहेको अमेरिकी सैन्य जहाजलाई निशाना बनाएको दाबी गरेपछि भएको हो । इरानले उक्त जहाजलाई नियन्त्रण तथा कमान्ड केन्द्रका रूपमा प्रयोग गरिएको आरोप लगाएको थियो ।

तपाईको प्रतिक्रिया