Online Bichar
शुक्रबार, जेठ २२, २०८३ | Friday, June 5, 2026

रुपन्देही, २१ जेठ २०८३ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिन देशका विभिन्न तराई जिल्लामा तातो हावा र अत्यधिक गर्मीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा जारी सूचनामा मधेश र लुम्बिनी प्रदेशका तराई भू–भागमा मध्यम स्तरको तातो हावाको लहर चल्न सक्ने उल्लेख गरिएको छ।

प्राधिकरणका अनुसार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत तातो दिनको अवस्था रहने सम्भावना छ। केही जिल्लामा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा माथि पुग्न सक्ने जनाइएको छ।

प्राधिकरणले विशेष सतर्कता अपनाउनुपर्ने जिल्लामा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियालाई समावेश गरेको छ। झापा, मोरङ, सुनसरी, चितवन, कैलाली, कञ्चनपुर तथा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) लगायतका जिल्लामा पनि अत्यधिक गर्मीको प्रभाव पर्न सक्ने जनाइएको छ।

अत्यधिक गर्मीका कारण शरीरको तापक्रम बढ्ने, थकान, कमजोरी, धेरै तिर्खा लाग्ने, टाउको दुख्ने, चक्कर लाग्ने, बेहोस हुने तथा मांसपेशी दुख्ने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ।

प्राधिकरणले चर्को घाममा अनावश्यक रूपमा बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का तथा खुला कपडा लगाउन, बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीको विशेष हेरचाह गर्न तथा कुनै स्वास्थ्य समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरेको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया