Online Bichar
बुधबार, जेठ २०, २०८३ | Wednesday, June 3, 2026

काठमाडौं, २० जेठ २०८३ । वित्तीय विश्लेषक र प्रमुख तेल उद्योगहरूले विश्व बजारमा तेलको अभाव बढ्न सक्ने चेतावनी दिएका छन् ।

यस चेतावनीको मुख्य कारण प्रयोगयोग्य आपत्‌कालीन कच्चा तेल भण्डार सकिने अवस्थामा पुग्नुलाई बताइएको छ । अहिलेकै अवस्था रहे तेलको मूल्यमा उच्च वृद्धि हुने सक्ने बताइएको छ ।

अमेरिकी लगानी बैंक जेपी मोर्गनले वास्तविक समस्या कुल तेल भण्डारभन्दा पनि निरन्तर आपूर्ति हुने प्रवाहमा रहेको जनाएको छ ।

विश्लेषणअनुसार सन् २०२६ को सुरुआतमा विश्वसँग कुल ८।४ अर्ब ब्यारेल तेल भण्डार रहेकोमा ८० करोड ब्यारेल मात्र तत्काल प्रयोग गर्न सकिने अवस्थामा थियो । बाँकी प्राविधिक तथा रणनीतिक कारणले पाइपलाइन, भण्डारण केन्द्र र रिफाइनरीहरूमा सीमित रहेको बताइएको छ ।

होर्मुज जलमार्गमा अवरोध भइरहे विकसित राष्ट्रहरूको संगठन ओईसीडीका देशहरूको व्यावसायिक तेल भण्डारमा जुन महिनादेखि दबाब पर्ने अनुमान छ । सेप्टेम्बरसम्म यो स्थिति अझ चुनौतीपूर्ण हुने चेतावनी दिइएको छ ।

होर्मुज अवरुद्ध हुँदा विश्व बजारमा दैनिक १ करोड २० लाखदेखि १ करोड ३० लाख ब्यारेल कच्चा तेलको आपूर्ति प्रभावित भएको छ । यो आपूर्ति शृंखलामा भएको ठूलो कटौती हो । तर, अमेरिका-इरानबीचको वार्ता सकारात्मक दिशातर्फ अघि बढेको संकेतले बजारले यो संकटलाई अस्थायी रूपमा लिएको विश्लेषण भइरहेको छ ।

तेल उद्योगीहरूले अब अवस्था गम्भीर बन्दै गएको चेतावनी दिन थालेका छन् । अमेरिकी ऊर्जा कम्पनी शेभरोनका प्रमुख कार्यकारी अधिकृत माइक वर्थका अनुसार बजार स्थिर राख्न प्रयोग गरिँदै आएको अतिरिक्त आपत्‌कालीन भण्डार लगभग समाप्त भइसकेको छ ।

यूएईको सरकारी तेल कम्पनी एड्नोकका प्रमुख सुल्तान अल–जाबेर युद्ध समाप्त भए पनि होर्मुजबाट तेलको सामान्य आवागमन तत्काल पुनःस्थापित हुन नसक्ने बताउँछन् । संघर्षपूर्वको क्षमताको ८० प्रतिशत पुनर्स्थापित हुन कम्तीमा चार महिना लाग्नेछ । पूर्ण रूपमा आपूर्ति सुरु हुन अझ लामो समय लाग्नेछ ।

 

तपाईको प्रतिक्रिया