काठमाडौं, १७ जेठ २०८३ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको जग्गा मिचेको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको सीमा समस्या समाधानबारे जिज्ञासा राखेका थिए ।
जवाफमा प्रधानमन्त्रीले सीमा विवाद कूटनीतिक रूपमा वार्ता गरेर समाधान गर्ने बताए । उनले नेपालले पनि भारतको जग्गा मिचेको भर्खरै थाहा पाएको सुनाए ।
“तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ । भारतले नेपालको जग्गा मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ । यो कुरा अस्तिमात्रै थाहा पाइयो,” प्रधानमन्त्रीले भने, “ दुईवटै देशले अध्ययन गरेर हामीले मिचेका छौँ, उहाँहरूले पनि मिच्नुभएको छ के छ । त्यसलाई बसेर एउटा साथीको रूपमा समाधान गर्ने सोच राखेका छौँ ।”






