झापा, १५ जेठ २०८३ । नेपाल–भारत सीमामा अध्यागमनको नक्कली कागजपत्रसहित भारतबाट नेपाल प्रवेश गर्न खोज्ने दुई थाई महिला पक्राउ परेका छन् ।
नक्कली अध्यागमनको कागजपत्रको सहयोगमा हिजो भारतबाट नेपाल प्रवेश गर्न खोजिरहेका दुई थाई महिलालाई पानीटंकी बोर्डर चेकपोष्टको नयाँ मेची पुलबाट भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ४३ वर्षीया पिम्चानोक केतला र ३८ वर्षीया मिस चिन्तारा बुद्धफोङ रहेका छन् । नक्कली कागजपत्र बनाएर मानव बेचबिखन तथा अवैध आवतजावत गर्ने सञ्जालविरुद्ध ठूलो सफलता हात पारेको एसएसबीले जनाएको छ । ४१ औं वाहिनी एसएसबी, रानीडांगाको बोर्डर इन्टरएक्शन टीम बीआईटी टोलीले सेतो स्विफ्ट कारलाई रोकेर अनुसन्धान गरेको थियो । कारमा यात्रा गरिरहेका ती दुई विदेशी महिलाहरुको राहदानी प्रमाणीकरणको लागि सिफ्ट कमाण्डरलाई बुझाइएको थियो। ती महिलासँगै रहेका एकजना शंकास्पद कुरियर एजेन्ट भने फरार भएका छन् । एक्जिट स्ट्याम्पमा शंका लागेपछि उनी भागेका हुन् । उनको गतिविधि र गाडीको तस्बिर सीसीटीभी क्यामेरामा कैद भएको जनाइएको छ ।
अनुसन्धानको क्रममा, अध्यागमन रानीगञ्जबाट प्राप्त जानकारी र प्रमाणिकरणले ती दुई महिलालाई कुनै वैध एक्जिट स्ट्याम्प जारी गरिएको थिएन। त्यसपछि, एसएसबी र अन्य सुरक्षा एजेन्सीहरूको संयुक्त सोधपुछले नक्कली अध्यागमन सिलहरू राख्नमा संगठित सिन्डिकेट संलग्न भएको खुलासा भएको छ ।
यसअघि बैशाखको अन्तिम साता पनि नेपाल– भारत सीमामा दुई थाई नागरिकसहित चारजना पक्राउ परेका थिए । झापा हुँदै नेपालबाट भारत प्रवेश गर्न खोज्दा उनीहरु पक्राउ परेका थिए । थाई महिलाहरु यौन व्यवसायका लागि नेपाल आउने क्रम बढेको छ । ‘थाई मसाज’ को बहानामा थाई महिलाहरु यौन व्यापार नेटवर्कसँग संलग्न रहेका छन् ।






